'पत्रकार महासङ्घ सञ्चार मन्त्रालयको शाखाजस्तो भयो, यो प्रेस स्वतन्त्रताको पक्षमा लड्न सक्दैन'

'पत्रकार महासङ्घ सञ्चार मन्त्रालयको शाखाजस्तो भयो, यो प्रेस स्वतन्त्रताको पक्षमा लड्न सक्दैन'

काठमाडौँ : राजनीतिक रूपमा विभाजित हुने अनि सरकारी अनुदानको आसमा बस्ने प्रवृत्तिका कारण नेपाल पत्रकार महासङ्घ कमजोर बनेको भन्दै महासङ्घका पूर्व सभापति र पत्रकारहरूले अहिलेकै शैलीले महासङ्घले प्रेस स्वतन्त्रता विरोधी पक्षसँग लड्न नसक्ने बताए।

महासङ्घले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले महासङ्घ प्रेस स्वतन्त्रताको पक्षमा बलियो बन्ने हो भने राजनीतिक दलको अजेण्डाको पछि लाग्नुको सट्टा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लग्नुपर्ने उनीहरूको सुझाव थियो।

महासङ्घको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार किशोर नेपालले महासङ्घको अहिलेको शैली सञ्चार मन्त्रालयको एक शाखा जस्तो देखिएको, महासङ्घका पदाधिकारीहरू राजनीतिक रूपमा विभाजित हुँदा प्रेस स्वतन्त्रताको पक्षको आन्दोलन कमजोर बनेको बताए।

महासङ्घका पूर्व सभापति समेत रहेका नेपालले महासङ्घ कमजोर बन्दा सञ्चारमाध्यम र पत्रकारमाथिको आक्रमणको घटना बढेको भन्दै उनले प्रेस स्वतन्त्रताको विपक्षमा पछिल्लो समय बढेका गतिविधीविरुद्द महासङ्घ सक्रिय हुने हो भने दलीय मानसिकता र सरकारी सहयोगको भरमा चल्ने व्यवहार बदल्न सुझाव दिएका थिए।

'नियोजित रूपमा पत्रकारको चरित्रहत्या गर्ने, सञ्चारमाध्यमलाई म विरुद्ध गइस् भने घेर्न आउँछु भन्नु महासङ्घको कमजोरीमा खेलेको हो,' उनले भने' यस्ता शक्तीविरुद्द लड्नु अगाडि आफ्ना कमजोरी सच्याउनु पर्छ। नत्र महासङ्घ लड्न सक्दैन।'

महासङ्घका अर्का पूर्व सभापति शिव गाउँलेले सञ्चार माध्यम र सञ्चारकर्मीमाथि पछिल्लो समय बढेको आक्रमण चिन्ताजनक रहेको भन्दै यसबारे महासङ्घले आफ्नो धारणा बनाउनुपर्ने बताए।

सञ्चार माध्यमका सञ्चालक विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएको आरोपबारे उनीहरूले आ-आफ्नो तरिकाले खण्डन गर्ने तर पत्रकारमाथिको आक्रमणबारे भने महासङ्घ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए।

अर्का पूर्व सभापति महेन्द्र विष्टले भने यसलाई सामान्य रूपमा लिन सुझाव दिएका थिए। महासङ्घका उपाध्यक्ष रमेश विष्टले प्रेस स्वतन्त्रता र पत्रकारको संरक्षणमा महासङ्घ सक्षम रहेको दाबी गरेका थिए।

पत्रकार विनोद ढुङ्गेल, नकुल अर्याल, सविन धमला लगायतले पछिल्लो समय पत्रकारहरूमाथि साइवर अट्याकका घटना बढेको तर महासङ्घ बलियो रूपमा उभिन नसकेको भन्दै बढ्दो साइवर आक्रमणप्रति नेतृत्व जिम्मेवार बनेर सोही अनुसार तयारी गर्न सुझाव दिएका थिए।

माघ २९, २०७९ आइतबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।