आमा छोरालाई ठक्कर दिएर हुइँकिन खोज्दा सेती नदी पुलमा अड्कियो गाडी
पोखरा : पोखराको महेन्द्रपुलमा गाडीको ठक्करबाट दुई जना घाइते भएका छन्।
आज दिउँसो बा १३ च २६६२ नम्बरको पजेरोले महेन्द्रपुलमा रहेको सेती नदीको पुलमा हिँडिरहेका म्याग्दी, धौलागिरी ३ घर भएका ५२ वर्षीया फूलमाया विक र उनका छोरा १८ वर्षका विष्णु विकलाई ठक्कर दिएर घाइते बनाएको हो।
पार्किङबाट निकाल्ने क्रममा गाडीले पैदलयात्रीलाई ठक्कर दिएर पुलमा झुण्डिन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए।
घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। पजेरो जीप तनहुँको शुक्लागण्डकी ५ बस्ने डा.चन्द्रबहादुर थापाले चलाएको खुलेको छ।
आमा छोरालाई ठक्कर दिएपछि चालक हतास भएर गाडी हुइँकाउन खोज्दा अनियन्त्रित भई पुलको बारमा ठोक्किन पुगेको थियो।
पुलको बारले रोकिएकाले गाडी सेती नदीको खोचमा खस्नबाट जोगिएको थियो। दुर्घटनामा परेको पजेरोलाई क्रेनले उचालेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ।
माघ २९, २०७९ आइतबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।