आमसञ्चार तीव्ररूपमा विकास भइरहेको छ, पुराना कानून संशोधन गरी समयअनुकुल बनाउनुपर्छ: मन्त्री शर्मा
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तीव्ररूपमा विकास भइरहेकाले पुराना कानून संशोधन गरी समयानुकुल बनाउनुपर्ने बताएकी छिन्। पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
“चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ”, उनले भनिन्, “आमसञ्चारको तीव्ररूपमा विकास भइरहेको छ, अब पुराना कानून संशोधन गरी समयअनुकुल बनाउनुपर्छ।”
यस्तै उनले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने पनि बताएकी छिन्। उनले सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताइन्।
मन्त्री शर्माले हुलाक सेवालाई पुनर्संरचना गर्न आवश्यक रहेको पनि बताइन्। पछिल्लो समय हुलाक सुनसान हुने गरेको भन्दै पुनर्संरचना आवश्यक रहेको बताएकी हुन्।
“एउटा हुलाक कार्यालयमा जाँदा चार महिनामा तीन वटा पत्र मात्रै पठाएको पाइयो”, उनले भनिन्, “हुलाकबाट व्यक्तिगत पत्र आदानप्रदान अहिले शून्यको अवस्थामा रहेछ, त्यसबाहेक हुलाकबाट अन्य काम नहुने रहेछ।”
उनले राजमार्गका कतिपय स्थानमा मोबाइल फोनले काम गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता स्थानमा दुर्घटना भएमा उद्धारमा समस्या आउने बताइन्।
माघ २९, २०७९ आइतबार ११:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।