लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज
बुटवल: लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ। मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए।
आज प्रदेश राजधानी दाङमा दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ। मुख्यमन्त्री गिरीले गत पुस २८ गते दुई जना बिनाविभागीय मन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिनाविभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गरेका छन्। विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्त्व गरेको एमालेबाट चार, माओवादी केन्द्रबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्रीको सिफारिसमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई आर्थिक मामिला मन्त्रालय, एमालेका चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, माओवादीकै इन्द्रजित थारूलाई भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानून तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माघ २९, २०७९ आइतबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।