टर्कीए भूकम्प: २८ हजारभन्दा बढीको मृत्यु, गुणस्तरहीन भवन बनाएको आरोपमा निर्माण व्यवसायीहरू पक्राउ

टर्कीए भूकम्प: २८ हजारभन्दा बढीको मृत्यु, गुणस्तरहीन भवन बनाएको आरोपमा निर्माण व्यवसायीहरू पक्राउ

एजेन्सी: टर्कीए (पुरानो नाम टर्की)मा गत सोमबार भएको भूकम्पमा परी २८ हजार १९२ जनाको मृत्यु भएको छ। भूकप्म प्रभावित दुई देश टर्कीए र सिरियामा गरी उक्त सङ्ख्यामा मानिसहरूको ज्यान गएको हो।

यस्तै हजारौँ मानिस घाइते भएका छन्। ७.८ म्याग्निच्युडको भूकम्पबाट हालसम्म टर्कीएमा २४ हजार ६१७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताएका छन्।

सिरियामा तीन हजार ५७५ जनाको ज्यान गएको छ। सरकार नियन्त्रित क्षेत्रमा एक हजार ४०८ तथा विद्रोहीको पकड भएका क्षेत्रमा दुई हजार १६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्। सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यस सम्बन्धी वास्तविक विवरण दिएको छैन।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताएका छन्। रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उनले दिए।

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन्। केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्धारका काम रोकेका छन्।

टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको आरोपमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन्।

माघ २९, २०७९ आइतबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।