डा. जयनमानको उपचार अनुभव : प्रेसले छिनालेको दुई हत्केला बाल्टीमा बोकेर ल्याए, १० घण्टासम्म शल्यक्रिया चल्यो

डा. जयनमानको उपचार अनुभव : प्रेसले छिनालेको दुई हत्केला बाल्टीमा बोकेर ल्याए, १० घण्टासम्म शल्यक्रिया चल्यो

करिब १२ वर्षअघि काठमाडौंको एक प्रिन्टिङ्ग प्रेसमा काम गर्ने १९ वर्षीय युवाको हात प्रेसको धारिलो मेसिनमा पर्यो। निमेशभरमै उनको दुवै हातका नाडी मेसिनले च्वाट्टै छिनायो। दुवै हातका नाडीभन्दा तलका भाग फुत्त भुइँमा खस्यो। हेर्दा–हेर्दै क्षण भरमै युवाको दुईटा हात चार टुक्रा भयो।

कारखानाका अन्य व्यक्तिले हतार–हतार युवाको छिनेका नाडीमा ब्यान्डेज बाँधिदिए र छुट्टिएका हातको भाग बाल्टीमा राखेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ्ग) पुर्याइयो। स्वास्थ्यकर्मीले तत्काल प्लाष्टिक तथा ह्याण्ड सर्जरी विशेषज्ञ प्राध्यापक डा. जयनमान श्रेष्ठ र डा. ईश्वर लोहनीको टिमलाई खबर गर्यो।

दश हजारभन्दा बढी व्यक्तिका विभिन्न अंगको सफल शल्यक्रिया गरिसकेका जयनमान त्यसबेला डा. ईश्वरको मातहतमा रहेर काम गर्थे। दुवै भएर बिरामीलाई आकस्मिक क्षमा पुगेर हेरे। युवाको दुवै हातको नाडीको बीच भागमा छिनेर चार टुक्रा भएको देखेर उनीहरु चकित परे। नाडीभन्दा तलको दुवै हात बाल्टीमा देख्दा डा. जयनमानलाई अलि हतास महसुस भएको उनी सम्झन्छन्।

त्यसअघि शिक्षण अस्पतालमा एउटा हात काटेर छिनेका अन्य व्यक्तिको पनि हात जोडेको थियो प्लाष्टिक सर्जनको टिमले। तर, दुवै हात काटेर छिनेको शिक्षण अस्पताल पुगेको त्यो पहिलो घटना थियो। हालसम्म पनि ती १९ वर्षीय युवाको त्यो घटना बाहेक दुवै हात च्वाट्टै छिनेर घाइते बिरामी शिक्षण अस्पताल नपुगेको उनले सुनाए।

तर, चिकित्सकको टिमले एकछिन पनि ढिला नगरी युवालाई शल्यक्रिया कक्षमा पुर्यायो। आवश्यक स्लाइन पानी चढाइयो। प्राथमिक उपचार भयो। एक्स–रे गरियो। ऐनेस्थेसिया दिएर बेहोस बनाइयो। एकैछिनमा डा. जयनमान लगायत प्लाष्टिक सर्जनको टिमले ती युवाको छुट्टिएका दुवै हात जोड्ने प्रक्रिया थाल्यो। किनकी शल्यक्रियाका लागि ढिलो गर्नै नहुने अवस्था थियो।

बाल्टीमा राखेर अस्पताल पुर्याएको युवाको हात चिकित्सकको टिमले जोड्न थाल्यो। तर, डा. जयनमानको मनमा युवाका छिनेका ती हात नजोडिएला कि भन्ने चिन्ता पनि त्यतिकै थियो। काटिएको भागबाट रगत बगेकाले युवा होसमा भए पनि सामान्य भन्न मिल्ने अवस्था थिएन।

प्लाष्टिक सर्जन डा. ईश्वर लोहनीको टिमले एकातर्फको हात जोड्न थाल्यो। डा. जयनमानको टिमले अर्को हात जोड्न थाल्यो। यसरी चिकित्सकको दुवै टिमले रातभरी युवाको हात जोड्न मेहनत ग¥यो। चोट लागेको ६ घण्टाभित्र रगतको नसा जोडिसक्नुपर्ने हुन्छ। ६ घण्टाभित्रै रगतको नसा जोडेको चिकित्सकको टिमले करिब दश घण्टापछि दुवै हात जोड्न सफल भयो।

शल्यक्रिया सफल भएपछि एनेस्थेसिया दिएर बेहोस बनाइएका युवालाई ब्यूँत्याइयो। आईसीयूमा राखियो। त्यसपछि वार्डमा सारियो। रातभरी युवाको हात जोड्ने शल्यक्रियामा खटिँदा डा. जयनमानले पनि निन्द्रा र भोक बिर्सिएका थिए। शल्यक्रियाको सफलतापछि उनी घर फर्किए।

करिब एक हप्तामा ती युवा डिस्चार्ज भएको सम्झन्छन् उनी। युवाको हात जोड्न सफलता मिलेका क्षण सम्झँदा अझै डा. जयनमानलाई आनन्द लाग्छ। पछि युवाले दुवै हातले दैनिक काम गर्न सक्ने र मोटरसाइकल समेत चलाउन सक्ने भएको उनले सुनाए।

‘उहाँले जोडिएका दुईवटा हातले बाइक चलाएर हिँड्नुहुन्छ,’ डा. जयनमानले सुनाए, ‘दैनिक गर्ने सबै काम गर्नुहुन्छ।’

अहिलेसम्म आफू नेतृत्वको चिकित्सकको टिमले ६ जना व्यक्तिको च्वाट्टै छिनेको हात जोड्न सफल भएको डा. जयनमानले।

खुट्टा काट्नुपर्छ भनेपछि भेटिएकी महिला
त्यसो त कतिपय अवस्थामा चोट लागेर खुट्टै काट्नुपर्ने अवस्थाका व्यक्तिको डा. जयनमानले उपचार गरेर खुट्टै नकाटी बचाउन सफल भएका छन्।

करिब नौ वर्षअघि एक महिलाको काम गर्ने क्रममा मेसिनले काटेर नलिखुट्टा भाँचिएको तथा ठूलो घाउ भएको रहेछ। छाला र मांसपेशी समेत बिग्रिएको अवस्थामा उनलाई अस्पताल पुर्याइयो। तर, चिकित्सकले खुट्टा काट्नुपर्ने सल्लाह दिए।

खुट्टै काट्नुपर्ने सल्लाह पाएपछि ती महिला थप सल्लाहका लागि शिक्षण अस्पताल पुगिन् र डा. जयनमानलाई भेटिन्। खुट्टाको अवस्था हेर्दा बचाउन सकिने देखे उनले। महिलालाई अस्पताल भर्ना गरेर डाक्टरको टिम शल्यक्रियाको तयारीाम जुट्यो।

ढाडबाट मांशपेशी निकालेर खुट्टाको घाउ छोपियो। माइक्रोस्कोपले हेरेर मसिनो–मसिनो नसा जोडेर महिलाको खुट्टामा मांशपेशीको पुनः संरचना गर्न सफल भएको सम्झन्छन् डा. जयनमान। माइक्रोस्कोपले हेरेर गरिने यस्तो सर्जरीलाई माइक्रोसर्जरी पनि भनिन्छ।

डाक्टरी अध्ययनमा चाख
भक्तपुरको तचपाल टोलमा जन्मिएका जयनमानले स्थानीय सरस्वती विद्यागृह माविबाट सन् १९८७ मा एसएलसी गरे। भक्तपुर बहुमुखी क्याम्पसबाट आइएस्सी गरेका उनी बीएस्सी अध्ययनका लागि त्रिचन्द्र कलेज आए। डाक्टर पढ्ने रहर भएकाले एमबीबीएसको पनि तयारी गरिरहेका थिए उनले।

त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययनका लागि जयनमानले छनोट परीक्षा दिए र सफल पनि भए। डाक्टर पढ्न पाउने भएपछि बीएस्सी बीचमै छाडे। सन् १९९२ मा एमबीबीएसमा भर्ना भएका उनले १९९७ मा अध्ययन पूरा गरे।

एमबीबीएसपछि त्रिवि शिक्षण अस्पतालमा एक वर्ष मेडिकल अधिकृतको रूपमा हाडजोर्नी विभागमा काम गरे डा. जयनमानले। हड्डी सम्बन्धी उपचारको राम्रो ज्ञान लिने मौका पाएपछि उनलाई सर्जरी विषय अध्ययन गर्ने भोक जाग्दै गयो। शिक्षण अस्पतालपछि केही महिना उनी काठमाडौं मोडल अस्पताल काम गर्न थाले।

सर्जरीको भोक
केही समयको कामपछि डा. जयनमानले सन् १९९९ मा महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा एमएस (मास्टर्स इन जनरल सर्जरी)अध्ययन गर्न थाले। सन् २००२ मा अध्ययन पूरा गरेपछि उनी शिक्षण अस्पतालको सर्जरी विभाग अन्तर्गत प्लाष्टिक सर्जरी युनिटमा खटिए।

सुरुका आठ महिना भोलेन्टियर रूपमा बिताएका डा. जयनमान सन् २००३ मा महाराजगञ्ज चिकित्सा क्याम्पसतर्फ स्थायी लेक्चररको रूपमा जागिरे भए। चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई पढाउने र शिक्षण अस्पतालमा बिरामीको उपचार गर्ने दुवै जिम्मेवारी पाए उनले।

त्यसबेला शिक्षण अस्पतालमा भएको प्लाष्टिक सर्जरी युनिट ६ वर्षअघि मात्र प्लाष्टिक सर्जरी तथा वर्न विभागमा परिणत भयो। अहिले उनी शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी विभागको विभागीय प्रमुखको भूमिकामा छन्। सह–प्राध्यापक हुँदै बढुवा भएका उनी अहिले प्राध्यापकको भूमिकामा छन्।

डा. जयनमान सन् २००६ मा प्लाष्टिक तथा ह्याण्ड सर्जरी सम्बन्धी थप ज्ञान तथा सीपका लागि सिंगापुर पुगे। दुई वर्षको अध्ययनपछि नेपाल फर्किएका उनले सन् २०१३ मा पाकिस्तानबाट ‘एफसिपिएस’ (प्लाष्टिक सर्जरी) गरे।

नेपालमा अझै प्लाष्टिक सर्जनको संख्या कम रहेको डा. जयनमानले सुनाए। देशभर करिब २५ जना प्लाष्टिक सर्जन रहेको बताए।

कडा मेहनत गर्नुपर्ने र अध्ययनपछि पनि सहजै जागिर नपाइने भएकाले पनि प्लाष्टिक सर्जरी विषयप्रति चिकित्सकको कम आकर्षण भएको हुनसक्ने उनको अनुभव छ। तर, नेपालमा प्लाष्टिक सर्जरी अध्ययन गर्ने चिकित्सकका लागि धेरै अवसरहरू समेत रहेको उनले सुनाए।

ह्याण्ड सर्जरीमा केन्द्रित
पठनपाठनका कामदेखि बिरामीको औषधि उपचार र शल्यक्रियामा डा.जयनमान बिहानैदेखि व्यस्त हुन्छन्। जटिल किसिमको शल्यक्रिया गर्नुपरेको दिन त समयको कुनै सीमा नै हुँदैन। कहिलेकाहीँ त शल्यक्रिया गर्दागर्दै रात नै बित्छ।

आगोले पोलेको, हातखुट्टालगायत शरीरका अंगमा विभिन्न कारणले चोटपटक लागेर अस्पताल पुगेका बिरामीको उपचार गर्नु उनको दैनिकी हो। सवारी दुर्घटना, मेसिनरी तथा औजार लगायतले हात काटेको, च्यापिएको, भाँचिएको, औंला च्यापिएको तथा काटिएको जस्ता समस्याको उपचार गर्नुमा डा. जयनमानको विशेष ज्ञान तथा सीप छ।

उनी ह्याण्ड इन्जुरीकोे उपचारमा नै बढी केन्द्रीत हुन्छन्। हातमा हुने विभिन्न चोटपटक जस्ता समस्यालाई चिकित्सकीय भाषामा ह्याण्ड इन्जुरी भनिन्छ। धेरै व्यक्तिको नचलेको हात चल्ने बनाएका छन् उनले। विशेषगरी मोटरसाइकल दुर्घटनामा परी हातै नचल्ने समस्या भएका धेरै बिरामीको हात चल्ने बनाउन सफल भएको उनले सुनाए।

सुन्दर बनाउने सीप
सामान्यतया प्लाष्टिक सर्जरी विधाका दुई पाटा हुन्छन्– एउटा रिकन्स्ट्रक्टिभ सर्जरी। अर्को कस्मेटिक सर्जरी। रिकन्स्ट्रक्टिभ सर्जरीमा विशेषगरी शरीरको बिग्रेको भाग बनाउने काम हुन्छ।

कुनै चाटपटक लगेको, क्यान्सर जस्ता रोग लागेको, जन्मजात अङ्गभङ्गको समस्या भएका जस्ता अवस्थामा शल्यक्रिया गरेर रोगको समस्या ठिक गर्नेसँग केन्द्रीत हुन्छ, रिकन्सट्रक्टिभ सर्जरी।

कस्मेटिक सर्जरी भने बढी सुन्दरतासँग सम्बन्धित हुन्छ। व्यक्तिको शरीरको अंग मिलाएर सुदर बनाउनु कस्मेटिक सर्जरी अन्तर्गत पर्छ।

आँखाको मुन्द्री मिलाउने तथा आँखाको आकार मिलाउने, नाकको आकार मिलाउने, पेटमा धेरै बोसो जमेको अवस्थामा निकाल्ने, स्तनको आकार मिलाउने जस्ता कस्मिेटिक सर्जरीमा पर्छन्। डा. जयनमानसँग रिकन्स्ट्रक्टिभ र कस्मेटिक दुवै किसिमका सर्जरीको राम्रो ज्ञान तथा सीप छ।

स्तनको आकार धेरै ठूला भएको खण्डमा गह्रौं भएर घाँटी दुख्ने तथा ढाड दुख्ने र पछाडिको पाता दुख्ने जस्ता समस्या हुन सक्छन्। यस्तो समस्या भएको खण्डमा ठूलो स्तनलाई घटाएर सानो बनाउने तथा मिलाउने गर्छन् डा. जयनमान।

सानो स्तन भएको खण्डमा सिलिकन, इम्प्लान्ट वा आफ्नै बोसो हालेर स्तनको आकार बढाइ मिलाउन सकिने उनले सुनाए। डा. जयनमान प्लाष्टिक सर्जरी विधाका परिचित चिकित्सक हुन्।

माघ २८, २०७९ शनिबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।