रुपन्देही सुपर लिगको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय विजयी
काठमाडौं : शनिबारदेखि भैरहवामा सुरु भएको रुपन्देही सुपर लिग क्रिकेटको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ। देवदह क्रिकेट युनिटलाई ६८ रनले पराजित गर्दै नेपथ्यले उपाधि जितेको हो।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ३८ ओभरको खेलमा ३७ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो।
उसका लागि अंकित विकले सर्बाधिक ३२ रन बनाउँदा सुनिल धमलाले २३, निशान्त शर्माले १९ र कृष्ण पराजुलीले १४ रनको योगदान दिए।
बलिङमा देवदहका किर्तिमान ढकाल र संकेत भट्टराईले समान ३–३ विकेट लिँदा अर्जुन रायमाझीले २ तथा प्रशान्त गैरे र सुरज खड्काले १–१ विकेट लिए।
१ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा देबदह २७ ओभर ३ बलमा सबै विकेट गुमाई ८२ रन मात्र बनाई ६८ रनले पराजित भयो।
देबदहका बिनित कार्कीले सर्बाधिक ३१ रन र संकेत भट्टराईले १२ रन बाहेक अरु कुनै खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन्।
देबदहलाई सस्तैमा रोक्न नेपथ्यका सुनिल धमलाले ५ विकेट लिए भने सन्देश पंगेनीले २ तथा कृष्ण पराजुली, आशिष पाण्डे र सरोज भुसालले समान १–१ विकेट लिए।
खेलमा म्यान नेपथ्यका सुनिल धमला अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए। प्रतियोगिता अन्तर्गत आइतबार गोलपार्क क्रिकेट क्लब र साई ग्लोबल एकेडमीबीच हुनेछ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ। प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
माघ २८, २०७९ शनिबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।