लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री केसीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री केसीले दिइन् राजीनामा

बुटवल: लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बताइएको छ।

माओवादी केन्द्रको तर्फबाट बिनाविभागीय मन्त्री बनेकी केसीले राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे। यसबारेमा थप छलफल भइरहेको उनले बताए।

पुस २७ गते केसीले मन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्। मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएकी थिइन्।

तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। गिरीले माघ ५ गते ५९ सांसदको विश्वासको मत पाएका थिए।

माघ २८, २०७९ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।