श्रमजीवी वर्गको हकहितका लागि सिन्को समेत भाँचिएन : श्रेष्ठ

श्रमजीवी वर्गको हकहितका लागि सिन्को समेत भाँचिएन : श्रेष्ठ

बुटवल: संयुक्त ट्रेड युनियन समन्वयन समितिका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले देशमा राजनीतिक परिवर्तन आए पनि श्रमजीवी वर्गहरूको हकहितका लागि राजनीतिक दलहरूले सिन्को समेत भाँच्न नसकेको बताएका छन्। उनले नेपालको वर्गीय आन्दोलन कमजोर बन्दै जानुमा सरकार नै मुख्य जिम्मेवार भएको समेत दावी गरे।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

श्रमिकको नजरबाट हेर्दा सरकार छ कि छैन भनेर सोच्नुपर्ने भन्दै उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला शासकहरू सामन्ती बनेको आरोप लगाए।

नेपालमा नीतिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले भने, 'अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरू मारमा परेको दुःख व्यक्त गरे। जसको फाइदा होटल व्यवसायीलाई पुगेको छ।'

आफू बाँके र कैलाली गएको बेला होटलहरूले श्रमिकको कटौती शुल्कलाई मेनुमा राखेर परिकारहरूको मुल्य बढाएको गुनासो गरे। उनले देशमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्दाहरू सधैँ ओझेलमा परेको बताउँदै सरकारले श्रमिकका अधिकारप्रति ध्यान नदिए कडा रूपमा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

साक्षात्कारमा नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष कमल गौतमले बढ्दै गएको बेथिति र मजदूरका हकअधिकारलाई सरकारले ध्यान नदिए राज्यविरुद्ध सडकमा उत्रिन बाध्य हुने बताए। उनले सामाजिक सुरक्षाको मुद्दालाई कार्यान्वयन गर्न देशभरी विभिन्न कार्यक्रम र आन्दोलनका तयारी तीव्र पारिएको उल्लेख गरे।

कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

माघ २८, २०७९ शनिबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।