४० हजार फिटमा उडिरहेको 'अज्ञात' वस्तु अमेरिकाले खसाल्यो

४० हजार फिटमा उडिरहेको 'अज्ञात' वस्तु अमेरिकाले खसाल्यो
तस्बिर: अज्ञात वस्तु खसाल्ने एफ-२२ लडाकू विमान

एजेन्सी: ४० हजार फिटको उँचाइमा उडिरहेको एक अज्ञात वस्तु अमेरिकाले खसालेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अलास्काको आकाशमा उडिरहेको उक्त वस्तु खसाल्न लडाकू विमानलाई निर्देशन दिएका थिए।

प्रवक्ता जोन कर्बीका अनुसार उक्त मानवरहित वस्तुको नाप सानो कार बराबर रहेको र त्यसले नागरिक उड्डयनमा प्रभाव पार्न सक्ने आकलन गरिएकाले खसालिएको बताए। उक्त वस्तु कहाँबाट कसले कुन उद्देश्यले अमेरिकी आकाशमा छोड्यो भन्ने पुष्टि नभएको उनले बताए।

एक साताअघि मात्र अमेरिकी सेनाले अमेरिकाको समुद्री क्षेत्रमा उडिरहेको 'चिनियाँ बेलुन' नष्ट गरेको थियो। 

शुक्रबार खसालिएको उक्त अज्ञात वस्तु भने अलास्काको आकाशमा ६४ किलोमिटर प्रतिघण्टाको दरले उडिरहेको थियो। नर्थ पोलतिर सोझिँदै गरेको उक्त वस्तु ब्युफोर्ट समुद्रमा खसेको थियो। हाल उक्त वस्तुको पार्टपुर्जा सङ्कलन गर्न विभिन्न हेलिकप्टरहरू त्यसतर्फ पठाइएको छ।

उक्त वस्तु सर्वप्रथम बिहीबारै देखिएको थियो। 

"हामीलाई थाहा छैन यो कुनै राज्यको हो या कुनै कर्पोरेट क्षेत्रको या कुनै व्यक्तिको", कर्बीले भने।

माघ २८, २०७९ शनिबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।