उकेरा टप फाइभ : त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बितदेखि प्रहरीको कुटाइबाट डाक्टर आईसीयूमा भर्ना भएको प्रसङ्गसम्म
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरिन्। उनले सम्बोधनमा अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान केन्द्रित गर्नुपर्ने समय भएको बताए। साथै युवाहरू विदेशिने अवस्थाको अन्त्यका लागि नेपालकै रोजगारी सिर्जना गर्नुपर्नेमासमेत जोड दिइन्।
राष्ट्रपतिको सवारीका कारण आज काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रह्यो। एम्बुलेन्सलाई समेत रोकेर राष्ट्रपतिको सवारी गरिएसँगै सामाजिक सञ्जालमा यसको चर्को विरोध जारी छ। सवारीकै क्रममा विहान राष्ट्रिय ट्रमा सेन्टरअघि ड्युटी सकेर घर फर्कँदै गरेका डाक्टरलाई प्रहरीले लाठीचार्ज गर्यो। डाक्टरको निधारमा रगत जमेपछि अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।
शुक्रबार नै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै कांग्रेसबाट प्रकाश देउवा र एकीकृत समाजवादीबाट नरेशकुमार शाहीले शपथग्रहण गरे। राजनीतिमै शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन भयो। जहाँ विभिन्न पार्टीका नेताले आफ्नो धारणा राखे।
अब लागौं टप फाइभर्फ
उकेराले शुक्रबार विहान समयमै निर्माण सक्न मन्त्रीले लिखित बाचा गराए पनि काठमाडौंको ‘महाङ्काल–भृकुटी चोक–तेन्जिङ चोक–फैका–आनी गुम्बा–चपली–बूढानीलकण्ठ सडक’मा म्याद थप्ने तयारीमा लागेको समाचार प्रकाशन गर्यो। सडक डिभिजन काठमाडौं र निर्माण कम्पनी तुदी÷प्रेरा जेभीबीच ०७३ साल जेठ २३ गते नै आयोजनाको सम्झौता भए पनि करिब सात वर्ष पुग्न लाग्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन।
पूरा समाचारः समयमै निर्माण सक्न मन्त्रीले लिखित बाचा गराए पनि फेरि म्याद थप्ने तयारी, सात वर्षमा नबनेको सडकको दोष चाहिँ स्थानीयलाई
दिउँसो उकेरामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएको समाचार प्रकाशित गर्यो। विदेशी वायुसेवा कम्पनी, थाई स्माइल एयरलाइन्स घुस मागेको आरोपमा उनी निलम्बनमा परे।
पूरा समाचारः त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित, थाई स्माइल एयरलाइन्ससँग घुस मागेको आरोप
अपरान्ह नियमित स्तम्भ कान्तिपुर गाथा प्रकाशन गर्यो। स्तम्भमा किशोर नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गत आइतबारको पत्रकार सम्मेलन र उनका भनाइप्रति केन्द्रीत भए।
पूरा समाचारः राजनीतिको उतार–चढावमा रवि
साँझपख उकेराले पाँच मन्त्रालय गाभिँदा गण्डकीमा ६० करोड जोगिने विषयको समाचार प्रकाशित गर्यो। गण्डकीमा यसअघि प्रदेश स्थापनाको शुरूको वर्ष मुख्यमन्त्री बनेका पृथ्बीसुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। पार्टी विभाजन भएसँगै सत्ता जोगाउन ११ मन्त्रालय बनाएका उनलाई उछिन्दै दोस्रो मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १२ सदस्यीय मन्त्रीमण्डल गठन गरे।
पूरा समाचारः पाँच मन्त्रालय गाभिँदा गण्डकीमा ६० करोड जोगिने, यस्ता छन् मुख्यमन्त्री र मन्त्रीका सुविधा
बेलुकी उकेराले सतर्कता केन्द्रको छानबिनमा रहेका डा. गौरव ढकाललाई नियम विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा पुनः नियुक्ति गरिएको बारेमा समाचार प्रकाशित गर्यो। अर्थमन्त्री विष्णु पौडेलका ज्वाईँसमेत रहेका उनको करार अवधि नै अवैध भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरिरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले माघ १९ गते नीति विपरीत ढकालको म्याद थपेको हो।
पूरा समाचारः सतर्कता केन्द्रको छानबिनमा रहेका डा. गौरवको ट्रमामा म्याद थपियो, राख्नै नमिल्ने तहमा सात वर्षदेखि काम गर्दै
माघ २७, २०७९ शुक्रबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।