ड्युटी सकेर फर्कँदै गरेका डाक्टरमाथि प्रहरीको लाठी, निधारमा रगत जमेपछि आईसीयूमा भर्ना

ड्युटी सकेर फर्कँदै गरेका डाक्टरमाथि प्रहरीको लाठी, निधारमा रगत जमेपछि आईसीयूमा भर्ना

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी तथा मांशपेशी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंहमाथि प्रहरीले लाठीचार्ज गरेको छ।

शुक्रबार दिउँसो ट्रमा सेन्टरबाट ड्युटी सकेर साइकलमा निस्कने क्रममा उनीमाथि लाठीचार्ज भएको हो।

राष्ट्रपतिको सवारीको समयमा निस्किएको भन्दै प्रहरीले उनलाई पिटेको ट्रमा सेन्टरका अस्पतालका चिकित्सक डा. रुपेश यादवले जानकारी दिए।

‘अप्रेशनमा सँगै थियौं,’ उनले भने, ‘अप्रेशन सकेर निस्कने क्रममा अस्पताल अगाडि नै प्रहरीबाट पिटिनुभएछ।’

चिकित्सकको कार्ड देखाउँदा–देखाउँदै प्रहरीले लाठि प्रहार गरेको डा. यादवले बताए। कुटाइबाट डा. सिंहको निधार र हातमा चोट लागेको छ।

डा. सिंहले एकपटक वान्ता गरेको र निधारमा रगतसमेत जमेकाले आईसीयूमा भर्ना गरिएको डा. यादवले बताए।

उनले भने, ‘हेड इन्जुरी भएको बिरामीलाई कम्तिमा २४ घण्टा अब्जरभेशनका लागि राख्नैपर्छ।’

माघ २७, २०७९ शुक्रबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।