गण्डकी प्रदेशमा रकमान्तरको बाटो खुल्यो

गण्डकी प्रदेशमा रकमान्तरको बाटो खुल्यो

पोखरा : गण्डकी प्रदेशसभाले चालू आर्थिक वर्षको बजेट रकमान्तरका लागि विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बेनको विधेयक पारित गरेको छ।

प्रदेश सरकारले ऐन संशोधनका लागि गत हप्ता नै प्रदेशसभामा दर्ता गराएको प्रस्तावलाई शुक्रबार बसेको बैठकले बहुमतले पारित गरेको हो।

यसअघिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेट र योजनालाई हेरफेर गर्न सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खोलेको हो।

ऐनमा बजेट खर्च हुन नसके चैतमा मात्रै रकमान्तर गर्न पाइने व्यवस्था छ। त्यसलाई संशोधन गरेर चैतअघि पनि रकमान्तर गर्न पाउने व्यवस्था थप्न ऐन संशोधन गरिएको हो। ऐन संशोधनसंगै अब फागुनमा नै रकमान्तरको बाटो खुलेको छ।

सरकारले पूँजीगत खर्चमा वृद्धि गर्ने भन्दै चैत महिनालाई घटाएर माघ महिना बनाएर ऐन संशोन गरेको छ। दफा ३ को उपदफा ४ मा एउटै अनुदान संख्याभित्रका बजेट शीर्षक वा उपशीर्षक रकमान्तर गर्दा प्रदेश सरकार, अर्थ मन्त्रालयले सम्बन्धित आयोजना तथा कार्यक्रममा सुरू विनियोजित रकमको शत प्रतिशतभन्दा बढी नहुने गरी आवश्यकता अनुसार रकमान्तर गर्न सक्ने उल्लेख छ।

यसलाई पनि संशोधन गरेर सरकारले रकमान्तर गर्दा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयको सम्बन्धित आयोजना तथा कार्यक्रममा आवश्यकता अनुसार रकमान्तर गर्नसक्ने गरी संसोधन पारित गरेको छ।

आर्थमन्त्री मन्त्री सीताकुमारी सुन्दासले २० माघको बैठकमा संशोधन विधेयक प्रस्तुत गरेकी थिइन्। त्यसपछि २४ माघमा सैद्धान्तिक छलफल भएको थियो। दफावार छलफलपछि संशोधन विधेयकलाई शुक्रबार निर्णयार्थ प्रस्तुत गरिएको थियो।

माघ २७, २०७९ शुक्रबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।