संसदबाहिर ज्ञानेन्द्र शाहीको टिप्पणी– ‘यो व्यवस्था विदेशी दलालले मात्र ठिक हो भन्छ, नेपालीले भन्दैन’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद् ज्ञानेन्द्र शाहीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विदेशी दलालले मात्र ठिक भन्ने बताएका छन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनलाई गरेको सम्बोधनपछि बाहिरिने क्रममा शाहीले व्यवस्था परिवर्तन नभएसम्म नेपालीहरूले सास्ती नै पाइराख्ने बताए। उनले जनताबाट निर्वाचित कार्यकारीले देश चलाउनुपर्नेमा समेत जोड दिए।
‘जनताबाट निर्वाचित गरौं न प्रत्यक्ष कार्यकारी, पाँच वर्ष टन्टै साफ। सरकार बन्यो एक महिना टिक्दैन, फेरि गइहाल्छ। दिनैपिच्छे मन्त्रीहरू हुन थाले। राज्यको खर्च बढेको बढ्यै भयो, काम पनि भएन,’ उनले भने, ‘यो व्यवस्था विदेशी दलालले मात्र ठिक हो भन्छ, नेपालीले भन्दैन।’
उनले अहिलेको व्यवस्था बेलायतबाट आएको विदेशी व्यवस्था भएकाले त्यसले नेपालीको हित नगर्ने बताए।
उनले अगाडि भने, ‘यो बेलायतबाट आएको विदेशी व्यवस्था हो। जसको फोटोकपी नेपालमा गरियो। जसले मुलुकको हित कहिल्यै पनि गर्दैन।’
सांसद् शाहीले राष्ट्रपति सदनमा आउँदा सवारीको नामम जनतालाई सास्ती दिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।
‘राष्ट्रपति जसरी सदनमा आउनुभयो, जनतालाई सास्ती दिएर। यो कुरा गलत हो। ठाउँ–ठाउँ ठप्प पारिएको छ। भीआईपीहरूको कि त सडक अलग्गै बनाउनुपर्छ,’ उनले थपे, ‘जनतालाई सास्ती दिएर भीआईपीहरूले भ्रमण गर्ने होइन। जनतालाई एक–एक घण्टासम्म रोकेर गरिएको यो तमासा गलत छ।’
माघ २७, २०७९ शुक्रबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।