राजनीतिको उतार–चढावमा रवि
गृह प्रशासनको समेत कार्यभार पाएका पूर्व उप–प्रधानमन्त्री रवि लामिछाने सर्वोच्च अदालतको संवैधानिक बेन्चबाट नागरिकताको सवालमा अस्वीकृत भएर पदमुक्त भएपछि उनले गरेको पहिलो काम थियो नेपाली नागरिकताको ‘पुन:’ प्राप्ति।
रविले सोचेका थिए होलान्– नेपालको नागरिकता र नेपाली राहदानी छोड्नु र लिनु त्यति असहज कुरा होइन। उनले नेपालको शासन–प्रशासनका शैली बुझेका थिए। उनलाई थाहा थियो, कहाँ कुन विभागमा कसरी काम पट्याउन सकिन्छ। यति सामान्य ज्ञान नभए त नेपालको प्रशासनिक गल्ली गल्छेउडा कसरी छिचोल्नु र?
सर्वोच्च अदालतको संवैधानिक बेन्चले संचारकर्ममा ‘खेताला’ (खेताला किनभने रवि आफूलाई संचारकर्मी मान्दैनन्) लागेर पैसा र प्रसिध्दि कमाएका, चितवनको दुई नम्बर निर्वाचन क्षेत्रबाट ‘प्रचण्ड’ बहुमतका साथ संघीय संसदमा विजयी भएका, गृह प्रशासनको समेत कार्यभार पाएर प्रधानमन्त्री प्रचण्डको मन्त्रिमण्डलमा उप–प्रधानमन्त्री पदमा सुशोभित भएका रवि लामिछानेलाई हिरोबाट जीरोमा परिणत गराइदियो। उनको ‘नूर’ गिर्योा। नून खाएर ओइलाएको ‘भाले’ जस्ता देखिए उनी।
त्यसपछि उनी शुभ साइत हेरेर जिल्ला प्रशासन कार्यालय पुगे। उनी आएको थाहा पाउनासाथ प्रशासन कार्यालय चल्मलायो। रविले जे बुझाए त्यो सत्य हो या हैनतिर प्रशासन लागेन। अति सहज ढंगले नागरिकता पाए उनले। रविले सजिलै नागरिकता पाएपछि नागरिकता पाउने रोलक्रम पर्खेर बसेकाहरू रमाए। आफूले नागरिकता पाए पनि, नपाए पनि रविले सरल र सहज ढंगमा नागरिकता पाएकोमा जनता दंगदास भए।
नागरिकता हात परेपछि रवि लामिछाने ‘हर्कत’ मा आए। देशमा राजाकै पालादेखि चलेको एउटा चलन छ, सरकारका तीनवटै अंगको असफलताको पगरी चौथो अंगको टाउकोमा थोपरिदिने। प्रेसलाई ‘डिस्क्रेडिट’ गरेर लड्डुखाने यो प्रवृत्तिसँग राम्ररी परिचित रहेका रविले पत्रकार कम आफ्ना समर्थक बढि भएको भीड जम्मा गरे र मिडियाका ठूला-ठूला हस्ती, साहू महाजन, अमीत ढकालदेखि प्रतीक प्रधानसम्मका सम्पादकहरू लगायत सबैको उछित्तो काँढे।
रविको यो आक्रमणपछि अहिले नेपाली प्रेस जगतमा ठूलै रेक्टरको भुइँचालो आएको छ। कान्तिपुर प्रकाशन समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश शिरोहियादेखि भर्खर अनलाइन पत्रकारितामा उकेरा लगाउन थालेका सम्पादक केपी ढुंगानासम्म रविको आलोचनाले झस्किएको देखियो।
रविले लगाएका आरोपहरूको छानबिनको माग कुनै पनि मिडियाकर्मीले गरेनन्। देशको चलन अनुसार, अब केही दिनमा रविले मिडिया संस्था र मिडियाको संस्था खडागर्न लागेकाहरुविरुद्ध लगाएको आरोप सुस्ताउनेछ। यसको कानुनी परीक्षण हुने सम्भावना देखिँदैन।
अहिले जति गाली गरे पनि रविले राजनीतिमा नै टिक्ने विचार गरेका छन् भने स्थापित मिडिया र राजनीतिबीचको सम्बन्ध ढुंगाको भर माटो र माटोको भर ढुंगा जस्तै हो भन्ने वचनलाई आत्मसात गर्नु पर्दछ।
यो सत्य हो, लोकतान्त्रिक पद्धति भएका देशमा नागरिकको व्यक्तिगत र सामूहिक स्वतन्त्रताको प्रतिरक्षा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अभिव्यक्तिका अरू विभिन्न विकसित–अविकसित पद्धतिको मुख्य चासो र प्रमुख स्वार्थको विषय हुन्छ।
विश्वभरि नै सञ्चारकर्म मानिसको अभिव्यक्ति स्वतन्त्रतासँग मात्र होइन, राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, जातीयजस्ता मानवीय स्वतन्त्रता र विकासका बहुआयामिक पक्षसँग अभिन्न रूपले जोडिएको पेशा र व्यवसायका रूपमा स्थापित छ। एक्काइसौं शताब्दीको पूर्वसन्ध्यादेखि कोरिन थालेको सञ्चार पद्धतिको मार्गचित्रले आफ्नो उद्देश्य, परिभाषालाई अझ विस्तारित गरेको छ। पछिल्लो मार्गचित्र मानिसको वैयक्तिक स्वतन्त्रता, उसको रुचि र व्यक्तित्वमा बढी केन्द्रित छ।
आखिर, के हो त मानिसको वैयक्तिक स्वतन्त्रता? प्रधानमन्त्री प्रचण्ड र पूर्व उप–प्रधानमन्त्री रवि लामिछाने दुवैका लागि स्वतन्त्रताका फरक अर्थ छन्। आफैँमा अमूर्त अवधारणाका रूपमा रहेको स्वतन्त्रतालाई स्थिर र निश्चित परिभाषामा बाँध्न कसैले पनि सक्दैन। पल-पलमा परिवर्तन भइरहने समयको गति र मानिसको चेतनाको विकासक्रमसँगै स्वतन्त्रताका परिभाषाहरू विस्तारित हुन्छन्।
राज्यका सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक र राजनीतिक अवस्थाले नागरिकका वैयक्तिक स्वतन्त्रतामा अवरोध ल्याउँछन्। समाज गतिशील छ। यसको आवश्यकताअनुसार स्वतन्त्रता आफैँ परिभाषित भइरहेको हुन्छ।
स्वतन्त्रताको अभावमा कुनै पनि समाज फस्टाउन सक्दैन। किनभने, मानिस परतन्त्रको अधीनमा रहेसम्म उसको आत्मसम्मान, प्रतिष्ठा, उन्नतिको अवसर र अभिव्यक्तिको अधिकार सुरक्षित हुँदैन। सत्यको निरन्तर खोजी हो स्वतन्त्रता। त्यसैले यो लोकतन्त्र, विधिको शासन र समानताको अपरिहार्य आवश्यकता हो। यो रवि लामिछानेको पनि आवश्यकता हो।
स्वतन्त्रताका विभिन्न आयामहरू छन्। त्यसैले पनि यसको व्याख्याका लागि स्थापित गणितीय परिभाषा छैन। स्वतन्त्रता मानिसका लागि अत्यावश्यक मूल्य पद्धति हो, यो लोकतन्त्रको जग हो र आफैँमा संसारका सबै नागरिकका लागि मान्य राजनीतिक पद्धतिको आधार पनि हो। मानिस स्वतन्त्रताविना बाँच्न सक्दैन। उसलाई भोकबाट मुक्तिमात्रै होइन, अभिव्यक्तिको स्वतन्त्रता पनि चाहिन्छ।
मानिसले शून्यमा आफ्नो नैसर्गिक अधिकारको अभ्यास गर्न सक्दैन। यसका लागि सञ्चार माध्यमको आवश्यकता पर्दछ। मानव सभ्यताको प्रारम्भदेखि नै सञ्चार माध्यमको विकास निरन्तर रहेको छ। मानवीय विकासका विभिन्न आयामले स्वतन्त्रता र सञ्चार माध्यमलाई अन्योन्याश्रित शब्द बनाइदिएका छन्। यो विचार स्थापित भइसकेको छ-जुन सञ्चार माध्यमले स्वतन्त्रताको प्रतिरक्षा गर्न सक्दैन त्यसको अस्तित्व नगण्य हुन्छ।
रविले प्रचण्ड बहुमतका साथ चुनाव जितेका हुन्। यसमा कुनै शंका छैन। चुनाव जित्न उनको ‘बहुपत्नी’ वाला इमेजले पनि काम गरेको हो। चुनाव पर्यवेक्षणका लागि चितवन पुग्दा त्यहाँका चोक र बजारमा उनको ‘पुरुषार्थ’को चर्चा पनि सुनिएको हो।
जे जस्तो भए पनि, रविले आफ्ना मतदातालाई तताएका हुन्। उनले ‘थोक’ मा पाएको जनताको भोटलाई ‘म्यानिपुलेसन’ गरेर पाएको भन्ने धृष्टता कसैले पनि गर्नु हुँदैन। रविलाई भोट जनताले दिएका हुन्। ती जनतामा रविले भोकबाट मुक्तिदिने आशा थियो। त्यो आशा फैलाउने काम पनि सञ्चार माध्यमले नै गरेका थिए। जनताले रविलाई दक्षिण भारतमा बन्ने सिनेमाका सुपर हिरोको रूपमा हेरेका थिए। हेरिरहेका छन्।
भोकबाट मुक्तिलाई मानिसको प्राथमिक आवश्यकता बताउने विचारका पक्षधरहरू राजनीतिक स्वतन्त्रताको मूल्यमा विकासले प्राथमिकता पाउनुपर्ने तर्क गर्दछन्। मानव इतिहासको अनुभवले त्यस्तो तर्कलाई गलत साबित गरेको छ। अनुभवले देखाएको छ- अभिव्यक्ति स्वतन्त्रताको अभावमा मानिस भोकबाट मुक्ति पाउन पनि असमर्थ हुन्छ। यसमा धेरै लामो विवादको आवश्यकता छैन।
आधुनिक समाजले भोकबाट मुक्ति र अभिव्यक्तिको शाश्वत स्वतन्त्रतालाई मानिसको मौलिक अधिकार र अनिवार्य आवश्यकता मानेर त्यसको पूर्ण अवलम्बन गरिसकेको छ।
रविले नेपाली राजनीतिको फोहोर पोखरीमा तरङ्ग ल्याएका पक्कै हुन्। तर, यो तरङ्गको प्रभाव रविकै वृत्तमा घुमिरहनेछ केही समयसम्म। पश्चिम बझाङ वा पूर्व ताप्लेजुङमा जतिसुकै रेक्टर स्केलको भुइँचालो गए पनि काठमाडौं र वरपरका क्षेत्रमा त्यसको प्रभाव अति सामान्य रहन्छ।
जनताको मनलाई आफ्नो व्यक्तित्वमा सदाकाल केन्द्रित तुल्याउन कठिन हुन्छ भन्ने रविले बुझेका होलान्। एउटा कुरा चाहीँ पक्कै हो: ‘जनता जान्न चाहन्छन्’ भनेर शुरूमा नै नेताको सातो लिने ऋषि धमलाको समेत सातो लिएका छन् उनले। यसअघि, स्रोत र शक्तिका हिसावले नेपाली मिडियामा अत्यन्त बलिया ऋषिको मूल्याङ्कन कसैले गरेको थिएन। ‘रवि’ले ‘ऋषि’को नूर गिराएकै हुन्।
माघ २७, २०७९ शुक्रबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।