थप हतियार उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिको अनुरोध

थप हतियार उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिको अनुरोध

एजेन्सी: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलब्ध गराउन आग्रह गरेका छन्। साथै उनले युक्रेनलाई छिटै सङ्घको सदस्यता प्रदान गर्न पनि अनुरोध गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न सङ्घका नेताहरूले सहमति जनाएका बताएका छन्।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् फेब्रुअरी २४ मा रुसले भीषण आक्रमण गर्ने युक्रेनले ठानेको छ। त्यसैले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गरेका छन्। आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रुसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताएका छन्।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। तीन वटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका थिए।

माघ २७, २०७९ शुक्रबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।