सीआईबीको अपरेशन 'रुट टु रूट' : खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। सीआईबीको टोलीले अपरेशन 'रुट टु रूट' (Rout to Root) अन्तर्गत विशेष सूचनाका आधारमा गत पुस १९ गते काठमाडौं महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो।
त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो। यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।
माघ २७, २०७९ शुक्रबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।