भैरहवामा एकीकृत जाँच चौकी बन्ने, भारतीय कम्पनीले पायो ठेक्का

भैरहवामा एकीकृत जाँच चौकी बन्ने, भारतीय कम्पनीले पायो ठेक्का

काठमाडौं: भैरहवामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण हुने भएको छ। आईसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ।

आईसीपी निर्माणको लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ।

यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनऊलाई आईसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ।

यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङको रूपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको छ। ठेक्काको अन्तिम कामका लागि फाइल काठमाडौं पठाएको र अबको एक साताभित्रै भारतबाट मेसिन ल्याई काम सुरु गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि इरशाद अहमदले जानकारी दिए।

करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन। नेपालतर्फ ठेक्काका लागि काम सुरु हुने निश्चित भए पनि भारततर्फ भने ठेक्का लाग्न सकेको छैन।

यद्यपि भारतीय पक्षले पनि जग्गा अधिग्रहण गरी पर्खाल लगाउने काम भने गरिरहेको छ।

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो। वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो।

यीमध्ये वीरगञ्ज आईसीपी निर्माण भई सञ्चालनमा आइसकेको छ भने नेपालगञ्जमा निर्माणाधीन र भैरहवामा निर्माण हुने अवस्थामा पुगेको हो।

आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ। सबै आईसीपी भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो। यसर्थ भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनीले एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा निर्माणको काम पाएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका आयोजना प्रमुख विदुर खडकाले जानकारी दिए।

भारतीय ठेकेदारले दुई वर्षभित्र निर्माण काम सम्पन्न गरी नेपाली पक्षलाई बुझाउनुपर्ने शर्त छ।

३५.११ हेक्टरमा फैलिएको आईसीपीमा आयाततर्फ ६९२ र निर्याततर्फ २७० सम्म ट्रक पार्क गर्न मिल्नेछ। आईसीपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकाय एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ।

यसको साथसाथै व्यापारिक लागत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहजरूपमा सेवा प्रदान गर्न सकिने लगायत अन्य काममा पनि सहज हुने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको भनाइ छ।

माघ २७, २०७९ शुक्रबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।