टर्की र सिरियामा भूकम्पमा परी २० हजार बढीको मृत्यु, शताब्दिकै ठूलो प्रकोप भएको राष्ट्रपतिको भनाइ

टर्की र सिरियामा भूकम्पमा परी २० हजार बढीको मृत्यु, शताब्दिकै ठूलो प्रकोप भएको राष्ट्रपतिको भनाइ

एजेन्सी: गत सोमबार टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजारभन्दा बढी पुगेको छ। टर्की र सिरियामा गरी उक्त सङ्ख्यामा मानिसहरूको मृत्यु भएको हो।

यद्यपि, संयुक्त राष्ट्रसङ्घले भने मृतक र क्षतिको यकिन विवरण अझै प्रष्ट नभएको जनाएको छ।

उद्धारकर्ताहरूले भवनमा च्यापिएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। तर, भूकम्प गएको एक सय घण्टाभन्दा बढी समय भएकाले अब जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको बताइएको छ।

यही बीचमा अत्यधिक चिसो मौसम र खाना, बास र पानीको अभावका कारण उद्धार गरिएकाहरू पनि समस्यामा छन्।

टर्कीका राष्ट्रपति रेसेप टेइप एरडोगनले भूकम्पलाई 'शताब्दीकै ठूलो प्रकोप' भनेका छन्।

भूकम्प प्रभावित क्षेत्रका लागि भनेर ठूलो सङ्ख्यामा हाल अन्तर्राष्ट्रिय मानवीय सहायता प्रदान गरिँदै छ। बिहीबार मात्र विश्व बैङ्कले टर्कीलाई १.७८ बिलियन अमेरिकी डलर सहयोग गर्ने बताएको थियो। यस्तै आधारभूत पूर्वाधार पुनर्निर्माणका लागि तत्काल आर्थिक सहायता उपलब्ध गराइने भएको छ।

टर्कीको दक्षिण-पूर्वी गाजिआनतेप शहरमा केन्द्रविन्दु भई शक्तिशाली भूकम्प गएको थियो।

माघ २७, २०७९ शुक्रबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।