सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले बिहीबार संसदमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

विश्वासको मत नपाएपछि रावलले बिहीबार साँझै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। रावल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए।

सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, अब कांग्रेसबाट मुख्यमन्त्री नियुक्त हुने

उन्मुक्तिले विश्वासको मत नदिने भनेर काठमाडौंमा बसेपछि रावल मुख्यमन्त्री नियुक्त भएको एक महिनामै पदमुक्त भएका हुन्।

प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४‚ राप्रपाका १ सांसद र एकजना स्वतन्त्र छन्।

नवनियुक्त मुख्यमन्त्री शाहले पनि ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ। अन्यथा उनी पनि पदमुक्त हुनेछन्।

माघ २६, २०७९ बिहीबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।