नागरिकता पछि रविको राहदानी विवादमा छानबिन सुरु, सरकारी वकिलको कार्यालयले मगायो कागजात

नागरिकता पछि रविको राहदानी विवादमा छानबिन सुरु, सरकारी वकिलको कार्यालयले मगायो कागजात

काठमाडौं: अवैध नागरिकताको कारण सांसद र गृहमन्त्री पद गुमाएका रवि लामिछानेको राहदानी विवादमा पनि छानबिन सुरु भएको छ।

रविले झुटो विवरण दिई राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) ले मंगलबार पाँच वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए।

यसपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेको नागरिकता र राहदानी सम्बन्धी सबै कागजात मगाएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार छानबिनका लागि अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता नगरेपछि युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्र लेख्दै लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई पाँच वर्षसम्मको कैद र हदैसम्मका जरिवानसमेत गर्ने गरी मुद्दा चलाउन माग गर्दै निवेदन दर्ता गरेका थिए।

प्रहरीले जाहेरी नलिए जिल्ला  सरकारी वकिलको कार्यालयमार्फत पनि जाहेरी दर्ता गर्न सकिने कानुनी प्रावधान रहेको छ।

माघ २६, २०७९ बिहीबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।