अकस्मात् फ्रान्स पुगे युक्रेनका राष्ट्रपति

अकस्मात् फ्रान्स पुगे युक्रेनका राष्ट्रपति

एजेन्सी: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बुधबार अकस्मात् फ्रान्स पुगे। जेलिन्स्कीले फ्रान्स भ्रमण गर्ने कार्यक्रम तय नै थिएन।

उनी बेलायतको भ्रमणमा भने निस्किएका थिए। त्यहाँबाट राष्ट्रपतिको टोली अकस्मात् पेरिस पुगेको राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ।

फ्रान्स पुगेर जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरिसकेका छन्। त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका छन्। उनीहरूबीच बुधबार त्रिपक्षीय वार्ता भएको जनाइएको छ। 

तीनै जना बुधबार रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ। त्यस अवसरमा जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए।

यसपछि वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनी युक्रेनको पक्षमा उभिएका थिए। त्यति मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन्।

उनीहरूबीच बिहीबार पनि ब्रसेल्समा युरोपियन काउन्सिलको बैठकमा भेटवार्ता हुने बताइएको छ। सो बैठकमा युरोपियन युनियनका सदस्यहरू उपस्थित हुने र युक्रेनलाई आगामी दिनमा गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी हुने बताइएको छ।

माघ २६, २०७९ बिहीबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।