उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपति निर्वाचन र प्रचण्ड सरकारको पूर्णता मुख्य अजेण्डा
काठमाडौं: आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसाउन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष ओलीबीच सहमति भएको थियो।
गृहसहित शिक्षा र श्रम मन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि हाल सत्ता गठबन्धन सङ्कटोन्मुख छ।
यस्तै राष्ट्रपतिको विषयलाई लिएर ओली र प्रचण्ड नै दुई धारमा देखिएका छन्। माओवादी राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छ भने एमाले आफूले भनेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने भन्दै अडान लिएर बसको छ।
यता आजै विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनेछन् र ठूलो दलको हैसियतमा कांग्रेसले मुख्यमन्त्री पाउनेछ। यसले पनि सत्ता गठबन्धनमा असर पार्ने देखिएको छ।
यस्तो अवस्थामा संयन्त्रको बैठक बोलाइएको हो।
आजको बैठकको मुख्य अजेण्डा भने प्रचण्ड सरकारको पूर्णता र राष्ट्रपतिको निर्वाचन नै हुनेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकको समय भने तोकिएको छैन।
माघ २६, २०७९ बिहीबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।