सापटी तिर्न श्रीमानले अपहरणको नाटक गरे, श्रीमतीले प्रहरीलाई खबर गर्दा हिरासतमा परे
काठमाडौँ : साथीसँग सापट लिएको १० लाख तिर्न अपहरणमा परेको नाटक गर्दा तीन जना प्रहरी हिरासतमा पुगेका छन्। अपहरणमा परेको भन्दै श्रीमतीहरूसँग पैसा माग्ने तीन जनासहित प्रहरीले ६ जनालाई पक्राउ गरेर अभद्र व्यवहारको आरोपमा हिरासतमा राखेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदुर बस्नेत, जगतबहादुर भोलान, कान्छामान जिम्बा, आसमान लामा, दिलीप विक र भोला महतो नुनिया पक्राउ परेका हुन्।
जगतबहादुर, कान्छामान र आसमानले विदुरसँग १० लाख रुपैयाँ सापटी लिएका थिए। विदुरले पैसा मागे पनि उनीहरूले तिर्न सकेनन्। उनीहरू मङ्गलवार चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापमा रहेको पिस ब्याम्बो रिसोर्टमा बसेर आ-आफ्नो श्रीमतीलाई फोन गरेर अपहरणमा परेको भन्दै साढे तीन लाखको दरले पैसा ल्याउन भने।
उनीहरूको श्रीमतीहरू पैसा लिएर ब्याम्बो रिसोर्टमा जानुको साटो उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर श्रीमान् अपहरणमा परेको जानकारी दिए।
जानकारी पाए लगत्तै प्रहरी उनीहरूको खोजीमा खटियो। बुधवार ब्याम्बो रिसोर्टमा पुग्दा उनीहरू सबै एकै ठाउँमा बसिरहेको र अपहरणको नाटक गरेको खुलेपछि ६ जनालाई नै नियन्त्रणमा लिएर कार्यालय ल्याई हिरासतमा राख्यो।
माघ २५, २०७९ बुधबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।