स्वास्थ्य सामाग्री किन्न अस्पतालपिच्छे मापदण्ड, मिलेमतो सहज गराउन महाशाखाकै अधिकारी सहयोगी

स्वास्थ्य सामाग्री किन्न अस्पतालपिच्छे मापदण्ड, मिलेमतो सहज गराउन महाशाखाकै अधिकारी सहयोगी

काठमाडौं : भरतपुर अस्पतालले करिब ३२ करोडमा एमआरआई मेसिन किन्न टेन्डर खुलाएसँगै मिलेमतोको आरोपमा घेरिएको छ। भरतपुर मात्रै हैन भक्तपुर अनि राष्ट्रिय ट्रमा सेन्टरको एमआरआई मेसिन खरिदको अवस्था पनि उस्तै विवादित छ।

तीनै अस्पतालको खरिद प्रक्रियाको आरोप समान छ' निश्चित कम्पनीसँगको मिलेमतोमा प्राविधिक मापदण्ड बनाएको।'

अहिले मात्र हैन, सरकारी स्वास्थ्य संस्थाको हरेक खरिद विवादमा तानिन्छ। विवादको कारण स्वास्थ्य सामाग्रीका आपूर्तिकर्तासँगको मिलेमतो नै हुने गरेका छन्।

यस्तो नहोस् भनेर स्वास्थ्य मन्त्रालयले कस्तो मापदण्डको सामान किन्ने भनेर तय गर्न ‘प्राविधिक विवरण बैङ्क नै बनाएको पनि छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखामा ‘प्राविधिक विवरण बैङ्क (टेक्निकल स्पेशिफिकेशन बैङ्क, टीएसबी)’ बनाएको छ।

बैङ्कमा रहेका स्पेशिफिकेशनहरु नेपाल सरकार अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था, स्थानीय निकाय, निजी तथा गैरसरकारी संस्थाहरूले प्रयोग गर्न सक्ने व्यवस्था छ।

निजीको कुरै छाडौँ सरकारी स्वास्थ्य संस्थाहरूले पनि बैङ्कमा रहेको स्पेशिफिकेशन प्रयोग गर्दैनन्। अस्पतालपिच्छे मापदण्ड बनाएर सामाग्री किन्छन्। एकै सामान एउटा सरकारी अस्पतालले २० करोडमा किन्छ, त्यो सामान अर्को सरकारी अस्पतालले ३० करोडमा किन्दा पनि मन्त्रालयको नेतृत्व देखेको नदेख्यै गर्छन्।

महाशाखाले बैङ्क त बनायो तर अनिवार्य नगरी चलखेलको विकल्प खुल्ला नै राखिदिएको छ। व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले महाशाखाबाटै स्पेशिफिकेशन लिनुपर्छ भन्ने नरहेको बताए।

तर, स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी  प्राविधिक स्पेशिफिकेशन बैङ्कबाट नै स्पेशिफिकेशन लिएर स्वास्थ्य सामाग्री खरिद गर्नुपर्ने बताउँछन्।

'नैतिक अनिवार्यता हुन्छ’, डा. लोहनीले भने,‘नैतिक अनिवार्यता कानुनी अनिवार्यता भन्दा ठुलो हो।’

प्राविधिक स्पेशिफिकेशन बैङ्क अन्य मुलुकमा पनि अभ्यासमा रहेको डा. लोहनीले बताए।

स्पेशिफिकेशन बैङ्कमा राखिएको स्पेशिफिकेशन प्रयोग गरे स्वास्थ्य सामाग्री र अन्य खरिदमा आपूर्तिकर्ता र अस्पताल प्रशासनका कर्मचारीको साँठगाँठ कमजोर हुन सक्छ। तर नेतृत्वमा रहेकाहरू नै साँठगाँठ भत्काउने पक्षमा देखिएका छैनन्।

निर्देशक डा. शर्मा सहजै बैङ्कमा प्राविधिक स्पेशिफिकेशन भए पनि सरकारी स्वास्थ्य संस्थाले त्यही स्पेशिफिकेशन लिएर स्वास्थ्य सामग्री खरिद गर्ने अभ्यास कम भएको बताउँछन्।

कुनै स्वास्थ्य संस्थाले विभागमा स्पेशिफिकेशन मागे बनाएर दिन सक्ने भन्दै उनले अधिकांशले आफैँ बनाएर सामाग्री किन्ने गरेको सहजै स्विकारे।

बेलाबखत स्पेशिफिकेशन संशोधन र अद्यावधि गर्नुपर्ने भए पनि महाशाखाले त्यो समेत गरेको देखिएन।

यस कारण बनाइयो स्पेशिफिकेशन बैङ्क

कुनै पनि खरिद गर्दा के, कति, कहिले, कहाँ, कसरी खरिद गर्ने र खरिदका लागि को जिम्मेवार हुने भन्ने तय गर्न स्पेशिफिकेशन तयार गर्नुपर्ने हुन्छ।

गुणस्तरीय स्वास्थ्य सामग्री परल मूल्यमा खरिद गराउन यो प्रभावकारी हुनसक्छ। सरकारी अस्पतालमा एकै मापदण्डको सामाग्री एकै मूल्यमा किन्न स्पेशिफिकेशन बैङ्कले सघाउँछ।

नेपालभर रहेका विभिन्न स्वास्थ्य संस्था, अस्पताल तथा स्थानीय निकायले जनतालाई उचित स्वास्थ्य सेवा प्रदान गर्न नियमित रूपमा विभिन्न औषधि, औषधिजन्य सामग्री तथा उपकरणहरूमा एकरूपता ल्याउन जरुरी रहेको प्राविधिक स्पेसिफिकेशन बैङ्कमा उल्लेख छ।

कुनै पनि औषधि र उपकरणको प्राविधिक स्पेसिफिकेशनको आधारमा औषधि–उपकरणको लागत निर्धारण हुन्छ। प्राविधिक स्पेसिफिकेशनले सामग्री खरिद गर्दा प्रतिस्पर्धात्मक घेरालाई कतिसम्म साँघुरो वा फराकिलो पार्ने भन्ने नियन्त्रण तथा निर्धारण गर्छ।

जसको आधारमा नै टेन्डर प्रक्रियामा भएका कुनै पनि औषधी, औषधीजन्य सामग्री तथा मेसिन–उपकरणको टेन्डर स्वीकृत हुने वा नहुने आधार तयार हुन्छ।

तर, देशभर रहेका सबै स्वास्थ्यसम्बन्धी खरिद निकायहरूमा आवश्यक प्राविधिक स्पेशिफिकेशन तयार पर्ने प्राविधिक वा विज्ञ उपलब्ध छैन भने हरेक निकायले आफैँ प्राविधिक स्पेशिफिकेशन तयार गर्दा समय र स्रोतको दोहोरो खर्च हुने गरेको छ।

एकै प्रकारका स्वास्थ्य सामग्री किन्दा अस्पतालपिच्छे फरक-फरक मापदण्डको सामाग्री आउँछ। मूल्य पनि फरक-फरक हुन्छ।

देशभरका स्वास्थ्य सम्बन्धी खरिद निकायहरूले खरिद गर्ने सामग्रीहरूमा समान स्तर र एकरूपता ल्याउन प्राविधिक स्पेशिफिकेशन रहेको प्राविधिक स्पेशिफिकेशन बैङ्क (टीएसबी) स्थापना गरिएको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन्। तर चासो भने दिँदैनन्।

खरिद तथा खरिद लागत रकममा एक रुपता कायम गर्न र अनियमितता नहोस् भन्ने उद्देश्यका लागि नै स्पेशिफिकेशन बैङ्क तयार भएको डा. लोहनी बताउँछन्।

'स्पेशिफिकेशन बैङ्कबाट स्पेशिफिकेशन लिएर टेन्डर गर्यो भने चाँडो सामग्री खरिद गर्न, आर्थिक एकरूपता र विवाद पनि हुन्न' उनले भने' तर यसको प्रयोग बढाएको देखिएन।'

माघ २५, २०७९ बुधबार १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।