पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीमा हुने
बुटवल : रुपन्देहीमा पाँचौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुने भएको छ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा प्रथम मेयर कप तथा पाचौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता आगामी फागुन ६ देखि १० गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ।
कार्यक्रममा लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरुबीच राष्ट्रिय प्रतियोगिता गर्दै आएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए।
पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका एक सयभन्दा बढी खेलाडीहरुले विभिन्न उमेर समूहमा भाग लिने छन्।
प्रतियोगिताको पुरुष र महिला सिंगल्सतर्फ उपाधि विजेताले सर्वाधिक ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
१२ विधामा खेलाइने प्रतियोगितामा कुल १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ।
यस प्रतियाेगिताका लागि नेपाल मात्र नभई भारत, भुटानबाट समेत खेलाडीहरु आउने प्रचार संयोजक तथा संघका सचिव सबर मियाले बताए।
माघ २५, २०७९ बुधबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।