भूकम्पपछि टर्कीका १० प्रान्तमा ३ महिनाका लागि संकटकाल घोषणा

भूकम्पपछि टर्कीका १० प्रान्तमा ३ महिनाका लागि संकटकाल घोषणा

एजेन्सी : सोमबारको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्।

टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल तीन महिनाको लागि हुने बताएका छन्। टर्कीमा भूकम्पका कारण यहाँ र छिमेकी सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्।

यसअघि टर्कीका आन्तरिक मन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाते, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार तीन महिनाको आपतकालका कारण यहाँ आगामी मे १४ मा राष्ट्रपति र संसदीय निर्वाचन हुने भएको छ र यी चुनावअघि नै संकटकाल अन्त्य हुनेछ।

यसअघि सन् २०१६ को जुलाईमा अर्दोआनले कूको प्रयासपछि पूरै देशमा संकटकाल लगाएका थिए। अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन्।

माघ २५, २०७९ बुधबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।