देश टुक्र्याउन माग राख्दै इन्डोनेसियामा न्यूजिल्याण्डका पाइलटको अपहरण

देश टुक्र्याउन माग राख्दै इन्डोनेसियामा न्यूजिल्याण्डका पाइलटको अपहरण

एजेन्सी : इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्युजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन्। उनले पाइलटलाई मार्ने धम्की दिएका छन्।

विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट फिलिप मर्टेन्सलाई अपहरण गरिएको थियो। विमानमा एक बालकसहित पाँच जना यात्रु पनि थिए। यात्रुलाई रिहा गरेको अनुमान गरिएको छ।

पृथकतावादीहरूले इन्डोनेसियाले पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग गरेका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। यो क्षेत्रमा विमानबाट मात्र पुग्न सकिने भएकाले अनुसन्धानमा कठिनाइ उत्पन्न भएको छ।

पश्चिम पपुवामा सक्रिय नेशनल लिबरेशन आर्मीले अपहरणको जिम्मेवारी लिएको छ। इन्डोनेसियाली सरकारले यसलाई आतंकवादी समूह मानेको छ।

इन्डोनेसियाले अडिग अडान लिएको अवस्था र पश्चिम पपुवाको स्वतन्त्रताको लागि वार्ता गर्न असफल भएमा पाइलटलाई मृत्युदण्ड दिइने नेशनल लिबरेसन आर्मीका प्रवक्ता सेबी साम्बोमको चेतावनी छ।

यसै क्रममा न्यूजिल्याण्ड सरकारले घटनाबारे आफूलाई जानकारी रहेको र इन्डोनेसियामा रहेका आफ्ना राजदूतले पाइलटको परिवारलाई सहयोग गरिरहेको बताएको छ।

सुसी एयरको उक्त विमानले छिमेकी जिल्ला टिमिकाको खानी सहरबाट सामान आपूर्ति गरिरहेको थियो।

माघ २५, २०७९ बुधबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।