‘मेस्सीको सम्झौता नवीकरण गर्नु बकवास’
एजेन्सी : पेरिस सेन्ट जर्मनी(पीएसजी)का पूर्व फरवार्ड जेरोम रोथेनले आफ्नो पूर्व क्लबलाई लियोनल मेस्सीको सम्झौता नवीकरण नगर्न आग्रह गरेका छन्।
आरएमसी स्पोर्ट्ससँगको कुराकानीमा रोथेनले मेस्सीको सम्झौता नवीकरण गर्दा क्लबका लागि प्रत्युत्पादक हुने बताएका हुन्।
अर्जेन्टिनी स्टार मेस्सीको एक्लैको तलबले टिमलाई सुधार्नका लागि पर्याप्त हुने तथा किलिनय एम्बाप्पे र नेयमार जुनियरजस्ता खेलाडीको व्यवस्थापनमा पनि सहज हुने भन्दै उनले मेस्सीलाई नवीकरण नगर्न आग्रह गरेका हुन्।
पीएसजीसँग मेस्सीको सम्झौता यहि सिजनको अन्त्यसम्म मात्रै छ। यद्यपि क्लबसँग १ वर्षको सम्झौता बढाउने विकल्प अझै बाँकी छ। क्लब पनि उनलाई टिममा समावेश गर्न इच्छुक देखिएको छ।
‘पीएसजीले मेस्सीको अनुबन्ध नवीकरण गर्नु हुँदैन। मेस्सीको साथै एम्बाप्पे र नेइमारलाई टिममा व्यवस्थापन गर्न अहिले क्लबलाई जटिल भइरहेको छ,’ अन्तरवार्तामा रोथेनले भने, ‘त्यसमाथि मेस्सीको सम्झौता रकम पनि असाध्यै धेरै छ। जुन रकमले नयाँ खेलाडी राख्न र टिमलाई सुधार्न पर्याप्त हुन्छ।’
रोथेनले मेस्सीले बार्सिलोना छाडेपछिको एक वर्ष निकै मुस्किल भएको बताए। बार्सिलोना छाडेपछि मेस्सीलाई सहज सामान्य अवस्थामा आउन निकै समय लागेको उनको दाबी छ।
मेस्सीले डेब्यु सिजनमा पीएसजीका लागि ६ गोल मात्रै गर्दा जारी सिजनको १८ खेलमा भने उनले १० गोल गरिसकेका छन्।
माघ २५, २०७९ बुधबार ०९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।