टर्कीमा राहत र उद्धार कार्य तीव्र, भग्नावशेषबाट अझै आइरहेका छन् ‘हेल्प मी, हेल्प मी’को आवाज

टर्कीमा राहत र उद्धार कार्य तीव्र, भग्नावशेषबाट अझै आइरहेका छन् ‘हेल्प मी, हेल्प मी’को आवाज
तस्बिर- गेट्टी इमेज

एजेन्सी : सोमबार बिहानै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा ७ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भयो। कुल मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन्। अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल लगाएका छन्।

अर्कोतर्फ विश्वभर फैलिएका टर्कीका धेरै नागरिक आफन्तको खबर पाउन आफ्नो देश पुगेका छन्। विदेशमा बस्ने यस्ता व्यक्ति राहत र उद्धार कार्यमा लाग्ने योजनामा ​​छन्। यी मानिसहरू पैसा दिएर पनि पीडितहरूलाई सहयोग गर्न तयार छन्।

टर्कीमा कडा जाडो र हिमपातका कारण राहत तथा उद्धार कार्यमा निकै कठिनाइ भइरहेको छ। यद्यपी उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका मानिसहरुलाई बाहिर निकाल्ने काम जारी राखेका छन्।

तर, समय बित्दै जाँदा भग्नावशेषमा फसेका आफन्तको ज्यान जाने चिन्ता बढ्दै गएको छ। टर्कीमा रहेका एक रिपोर्टरले भग्नावशेषमा फसेका मानिसहरूको आवाज सुनिरहेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनले भूकम्पबाट लाखौं मानिस प्रभावित भएको अनुमान गरेको छ। उसका अनुसार यस घटनाबाट टर्की र सिरियाका करिब २ करोड ३० लाख मानिस कुनै न कुनै रूपमा प्रभावित हुने उसको अनुमान छ।

सन् १९३९ यताकै सबैभन्दा खतरनाक भूकम्पबाट टर्कीमा मात्रै १ करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरिएको बीबीसी टर्कीका संवाददाता सेलिन गिरिटले बताए।

माघ २५, २०७९ बुधबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।