उकेरा टप फाइभ : टिकटकले गिज्याएको महोत्सवदेखि छात्राहरूमाथि उप-प्राध्यापकले यौन दुर्व्यवहार गरेको आरोपसम्म

उकेरा टप फाइभ : टिकटकले गिज्याएको महोत्सवदेखि छात्राहरूमाथि उप-प्राध्यापकले यौन दुर्व्यवहार गरेको आरोपसम्म

काठमाडौं : मंगलबार नेपाली राजनीतिमा खासै गतिविधि भएनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भयो। भेटमा राष्ट्रपति निर्वाचन र समसामयिक घटनाक्रमबारे छलफल भयो।

यस्तै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको मान्यता नदिन परेको रिट दर्ता भयो। यसअघि सर्वोच्चले दरपीठ गरेपछि त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना मल्ल प्रधानको इजलासले रिट दर्ता गर्न आदेश दियो।

मंगलबार नै बंगलादेशको ढाकामा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै विजयी भएसँगै फाइनल प्रवेश गर्यो।

मंगलबार पनि टर्की र सिरियामा लगातार भूकम्प आइरह्यो। भूकम्पका कारण त्यहाँ ५ हजारभन्दा बढि मानिसको ज्यान गुमाइसकेका छन् भने हजारौं घाइते भए। उद्धारको क्रम अझै जारी छ। भग्नावशेषभित्र रहेकाहरुको उद्धारको क्रमा जारी नै छ।

अब लागौं टप फाइभतर्फ
उकेराले मंगलबार गण्डकी प्रदेशको पाँच वर्षको कार्यकालको समीक्षा गर्दै समाचार छाप्यो। यी पाँच वर्षमा यो प्रदेशमा कुशासनको भद्दा रूप देखिनुका साथै सबै घरमा बिजुली र खानेपानी पुर्याउने निर्णय समेत असफल भयो। समाचारमा समग्र घटनाक्रम र त्यसबीचमा भएका दुई तीन मुख्यमन्त्रीको कामलाई मूल्याङ्कन समेटिएको छ।
पूरा समाचारः गण्डकी प्रदेश सभाको पहिलो बैठकको पाँच वर्ष: कुशासनको भद्दा रूप, सबै घरमा बिजुली र खानेपानी पुर्याउने निर्णय समेत असफल

मंगलबार मध्यान्हतिर उकेराले लुम्बिनी प्रदेशमा तीन मन्त्रालय नहुँदा वार्षिक ३३ करोड आर्थिक भार घट्ने समाचार प्रकाशित गर्यो। समाचारमा प्रदेश सांसदले भने १३ शीर्षकमा लिन्छन् सुविधा लिने गरेको प्रसङ्गसमेत समेटिएको छ। सबै जोड्दा प्रदेशमा एक जना मन्त्री घटाउँदा सरकारका लागि प्रतिमहिना तीन लाख रूपैयाँभन्दा बढी सेवासुविधाकै मात्र आर्थिक भार कम हुने देखियो।
पूरा समाचारः तीन मन्त्रालय नहुँदा वार्षिक ३३ करोड आर्थिक भार हट्ने, प्रदेश सांसदले भने १३ शीर्षकमा लिन्छन् सुविधा

अपरान्हतिर उकेराले देशभर भइरहेको महोत्सवलाई टिकटकले गिज्याएको प्रसङ्गमा समाचार प्रकाशित गर्यो। अहिले देशमा विभिन्न भागमा भएका महोत्सवमा उफ्रिएर भाइरल हुने अवस्था बढ्दै जाँदा त्यसको अभ्यासका लागि भन्दै टिकटकमा विभिन्न भिडियो बन्न थालेका छन्। त्यस विषयमा आयोजकको भने खासै ध्यान नगएको विषयलाई समाचारमा समेटिएको छ।
पूरा समाचारः टिकटकले गिज्याएको महोत्सव

उकेराले मंगलबारको नियमित स्तम्भ चौथो अंगमा पुर्व मुख्यसचिव विमल कोइरालाको अनुभव समेट्यो। उनीसँग उकेराले ‘पूर्व प्रशासकको दृष्टिकोणमा नेपाली मिडिया’ शीर्षकमा गएिको कुराकानीमा आधरित भएर उनको दृष्टिकोण समेट्यो। उनले विशेषत नेपाली पत्रकारितामा स्रोतले बतायो भन्दै अनुमान गर्दै लेखिने गरेको भन्दै त्यसले समाधान नदिने कुरामा जोड दिएका छन्।
पूरा समाचारः चौथो अंग : स्रोतले बतायो भन्दै अनुमान गर्दै लेखिने समाचारले समाधान दिँदैन, प्रश्न मात्र जन्माउँछ

त्यस्तै, राति उकेराले नेपाल नेपाल कर्मश क्याम्पस मीनभवनको एक उप(प्राध्यापकले शैक्षिक भ्रमणमा गएका छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको विषयको समाचार प्रकाशित गर्यो। समाचारमा क्याम्पसका ब्याचलर्स अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) छैटौं सेमेष्टरका विद्यार्थीलाई शैक्षिक भ्रमणमा चितवन लगेको समयमा यौन दुर्व्यवहार गरेको भन्दै महेन्द्र अर्यालविरुद्ध ३६ विद्यार्थीले उजुरी गरेको उल्लेख गरिएको छ।
पूरा समाचारः शैक्षिक भ्रमणमा गएका कमर्स क्याम्पसका छात्राहरूलाई ‘हटी पाइ’ भन्दै उप-प्राध्यापकले गरे यौन दुर्व्यवहार, ३६ विद्यार्थीको उजुरी

माघ २४, २०७९ मंगलबार २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।