राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो। गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो। तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन। राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन्। राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ।’

राजस्व संकलनको क्षेत्रमा देखिएको समस्या समाधान गर्दै दायर बढाउनुपर्नेमा प्रधानमन्त्री दाहाललो जोड दिए। उनले समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिने बताए।

आफूले राजनीतिमा निरन्तरतामा क्रमभंगतालाई मान्यताको रुपमा लिएको भन्दै त्यसो भएमा मात्र कामको गति बढ्ने बताए। राजस्व चुहावट नियन्त्रणका निम्ति पनि यो तरीका प्रभावकारी हुनसक्ने उनको भनाइ छ।

राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले प्रविधिको प्रयोग ठीक ढंगले नगरि चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन नसक्ने बताए।

अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनीकरण हुँदै जाने बताए।

उनले अगाडि भने, ‘तपाईंहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस्। राज्य निरीह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट हुनुस्।’

माघ २४, २०७९ मंगलबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।