भारतलाई ३-१ ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, एक गाेल खाएपछि नेपालले तीन गाेल फर्कायाे
काठमाडौं: भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पुनरागमन सहितको सानदार जित निकाल्याे।
खेलकाे पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल फर्काएको थियाे।
२१औं मिनेटमा अपुर्व नाजारीको गोलमार्फत भारतले अग्रता बनाएको थियाे। दोस्रो हाफकाे सुरुवात मै अन्जली चन्दले नेपालका लागि बराबरी गोल फर्काइन् ।
यसपछि कप्तान प्रिती राईले ६९औं मिनेटमा र अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै नेपालको ३-१ को जित पक्का गरे।
यससँगै तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेको नेपालले फाइनलमा ठाउँ पक्का गरेको छ। फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्न बाँकी छ।
माघ २४, २०७९ मंगलबार १७:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।