भाउजूको हत्या गर्ने देवरहरूलाई आठ वर्षपछि जन्मकैद, तर दुवै फरार

भाउजूको हत्या गर्ने देवरहरूलाई आठ वर्षपछि जन्मकैद, तर दुवै फरार

काठमाडौं: भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको हो।

अभियुक्तहरू दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ।

आठ वर्षदेखि पेशी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए। पटकपटक पेशी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेशी सारेर फैसला हुन सकेको थिएन।

जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो। जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन्। सिसौको रुखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते मृत्यु भएको थियो।

छोरा बेचनले घटनाकै दिन २०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गरेका थिए।

फैसलाका लागि मुद्दाका सबै अङ्ग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहेका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गरे।

अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय, उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाई पाएका छन्।

माघ २४, २०७९ मंगलबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।