ब्लकबस्टर फिल्म 'कांतारा'को प्रिक्वल बन्ने
एजेन्सी: सन् २०२२ को चर्चित र ब्लकबस्टर फिल्म 'कांतारा'को प्रिक्वल आउने भएको छ। हालै मात्र फिल्मले आफ्नो प्रदर्शनको एक सय दिन पूरा गरेको थियो।
फिल्मका निर्देशक ऋषभ शेट्टीले प्रिक्वलको स्क्रिप्टमा काम भइरहेको बताए। यस्तै बलिउडका ट्रेड एनालिस्ट तथा समीक्षक तरण आदर्शले पनि यसबारे जानकारी दिएका छन्।
निर्देशक शेट्टीले भनेका छन्, 'तपाईंहरूले जे देख्नुभयो त्यो वास्तवमा पार्ट २ हो। अर्को वर्ष पार्ट १ आउँछ।'
उनका अनुसार दुई भागमा बनाउने सोच उनलाई शुटिङकै बेला आएको थियो। यसको स्क्रिप्टको लागि रिसर्चमा नै निर्माण युनिट खटिएको उनले जानकारी दिएका छन्।
'फिल्मको डिटेलको बारेमा केही पनि खुलासा गर्नु हतार हुनेछ', उनले भने।
सुरु सुरुमा फिल्मले सुस्त कमाइ गरे पनि वर्ड अफ माउथ पब्लिसिटीका आधारमा यसको कमाइ ४०० करोड भारुभन्दा बढी भयो। तर फिल्मको बजेट भने केवल १६ करोड भारु थियो।
फिल्मको रेटिङ गर्ने वेबसाइट आईएमडीबीमा यसलाई ९.१ रेट गरिएको छ। यो भनेको कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा उत्कृष्ट रेटिङ हो।
माघ २४, २०७९ मंगलबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।