टर्की भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

टर्की भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

एजेन्सी: टर्कीको गाजिआनतेप शहरमा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी हालसम्म चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको छ। सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पको बेला अधिकांश व्यक्ति सुतिरहेका थिए।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय ४:१७ मा भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु सतहभन्दा १७.९ किलोमिटरमुनि रहेको छ।

त्यसपछि स्थानीय समयअनुसार दिउँसो १:३० मा ७.५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। यद्यपि स्थानीय अधिकारीहरूले यसलाई पराकम्प नभई भूकम्प नै भएको बताएका छन्।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार पहिलो भूकम्पपछि टर्कीमा मात्र दुई हजार ९०० जनाको मृत्यु भएको थियो र १५ हजारभन्दा बढी घाइते भएका थिए।

पहिलो भूकम्पमा परी सिरियामा एक हजार ४०० जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ।

विशेषगरी टर्की र सिरिया भूकम्पबाट प्रभावित बनेका छन्। भवनका भग्नावशेषभित्र च्यापिएका मानिसहरूको उद्धार जारी छ। दुवै देशमा गरी हजारौँ भवन ढलेका छन्।

यस्तै टर्कीले अन्तर्राष्ट्रिय सहायताको अपिल गरेपछि अमेरिका र दक्षिण कोरियाले सहायता पठाइसकेका छन्। जापानले पनि सहायता पठाएको जनाएको छ।

माघ २४, २०७९ मंगलबार ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।