कुमार लिङदेन नेतृत्त्वको दलसँग एकता गर्ने जसपाको प्रस्ताव

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले कुमार लिङदेन नेतृत्त्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग पार्टी एकता गर्न प्रस्ताव पत्र पठाएको छ। सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठले एकताका लागि प्रस्ताव पत्र पेश गरेका हुन्।
पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबीच एकता खोजिरहेको छ। एकताले देशमा परिवर्तनकारी राजनीतिक अजेण्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोहोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी/दलित, अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकुल बनाउन सकिने’ उल्लेख गरिएको छ।
‘पार्टी एकताको लागि विचारधारात्मक र संगठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ’, पत्रमा भनिएको छ।
जसपाले एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति लगायतका दलहरूसँग पनि एकताको पहल गरिरहेको छ।
माघ २४, २०७९ मंगलबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।