टर्कीमा भूकम्प जाँदा १५ सय जनाकाे मृत्यु, तापक्रम माइनस १० डिग्री सेल्सियस झर्दा उद्धारमा कठिनाइ

टर्कीमा भूकम्प जाँदा १५ सय जनाकाे मृत्यु, तापक्रम माइनस १० डिग्री सेल्सियस झर्दा उद्धारमा कठिनाइ

एजेन्सी : दश घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्कीमा एक हजार ४९८ जनाको मृत्यु भएको छ। आठ हजार ५३३ जना घाइते भएका छन्।

स्थानीय समय अनुसार विहान ४:१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प र दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले  नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ।

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ। मौसम सेवाले बिहीबारसम्म दक्षिणपूर्वी टर्कीमा वर्षा र हिमपातको पूर्वानुमान समेत गरेको छ।

एनटीभी प्रसारकले व्यापक हिउँ परेको कहरामनमारस प्रान्तमा उद्धार प्रयासहरू भइरहेको देखाएको छ, जहाँ दुई बालबालिकालाई कंक्रिटको भग्नावशेषको ठूलो स्ल्याबबाट जिउँदै निकालिएको थियो।

भूकम्प प्रभावित क्षेत्रहरू छाड्न खोजिरहेका मानिसहरू ट्राफिक जामका कारण अलपत्र परेका छन्। टर्किएले भूकम्पपछि स्तर-४ अलार्म जारी गर्दै अन्तरराष्ट्रिय सहायताको आह्वान पनि गरेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन्।

माघ २३, २०७९ सोमबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।