दुई लाख १२ हजार भ्रष्टाचार गरेको भन्दै मेयरसहित १२ जनाविरुद्ध मुद्दा

दुई लाख १२ हजार भ्रष्टाचार गरेको भन्दै मेयरसहित १२ जनाविरुद्ध मुद्दा

काठमाडौं : कृषि सडक निर्माणमा फर्जी कागजपत्र बनाएर २ लाख १२ हजार हिनामिना गरेको अभियोगमा धनुषाको शहिदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अभियोग पत्रमा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा वडा नम्बर ८ मा रहेको बिसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर अनियमितता गरेको दाबी गरिएको छ।

फिल्डमा भएको भन्दा बढी रकम उल्लेख गरी हिनामिना गरेको दाबी गर्दै अख्तियारमा परेको उजुरीबारे छानबिनपछि उपभोक्ता समितिमार्फत भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

अभियोग पत्रमा नगरप्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबी लिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादवविरुद्ध हिनामिना भएको रकमबमोजिम बिगो‚ त्यति नै जरिवाना र कैद सजाय माग गरिएको छ।

आर्थिक प्रशासन प्रमुख नन्दकुमार झालाई छुट्टै बिगो, त्यति नै जरिवाना र कैद सजाय तथा हिनामिना भएको रकम असुलउपर गर्न माग गरिएको छ।

सोही योजना सञ्चालन गर्ने जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादवविरुद्ध पनि बिगो, कैद र जरिवाना तथा बिगो जफतको माग दाबी गरिएको छ।

माघ २३, २०७९ सोमबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।