आत्मदाह गरेका आचार्यसँग कारोबारमा जोडिएका उपेन्द्रदेखि मीनबहादुरसम्मको बयान सकियो, दुरुत्साहनमा प्रमाण सङ्कलन गर्दै प्रहरी

आत्मदाह गरेका आचार्यसँग कारोबारमा जोडिएका उपेन्द्रदेखि मीनबहादुरसम्मको बयान सकियो, दुरुत्साहनमा प्रमाण सङ्कलन गर्दै प्रहरी

काठमाडौं : पेट्रोल छर्किएर आत्मदाह गर्नु अगाडि प्रेमप्रसाद आचार्यले फेसबुकमा उल्लेख गरेको लेनदेनसँग जोडिएका ब्यवसायीहरुसँग प्रहरीले बयान लिएको छ।

आचार्यको परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले आचार्यसँग लेनदेनमा जोडिएका गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष उपेन्द्र महतोदेखि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसम्मको बयान लिएको हो।

परिसरका एक प्रहरी अधिकारीका अनुसार महतो, गुरुङसँगै बिग मार्टका सञ्चालक, क्याथफोर्ड कलेजका सञ्चालक, गोल्यान एग्रो र  नक्सालस्थित शान इन्टरनेशल कलेज, थापाथलीस्थित सुजुकी शोरुमका सञ्चालकहरूसँग बयान लिएको हो।

आचार्यले फेसबुकमा लेखेको नोटलाई प्रहरीले सुसाइड नोटको रूपमा स्वीकार गरेर अनुसन्धान अगाडि बढाएको हो।
आचार्यले  ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले एक लाख ७५ हजार नदिएको, बिग मार्टले  ५–७ लाखको समान अर्डर गरेर ७५ हजार देखि डेढ लाख मात्रै भुक्तानी दिने गरेको लेखेका थिए।

शान इन्टरनेशनलले ९० हजार नदिएको, थापाथलीस्थित सुजुकी शोरुमले ४ लाख फिर्ता नगरेको, भाटभटेनी सुपर मार्केटले उधारोमा समान लिएर लामो समय पैसा नदिने गरेको, उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीले किनेको घ्यूको पैसा नदिएको फेसबुकमा लेखेका थिए।

उनले जो-जोबारे लेखेका थिए उनीहरूसँगको आर्थिक कारोबार र फेसबुकमा उल्लेख गरेका आर्थिक कारोबारको सत्यताबारे बयान लिइएको र आर्थिक कारोबारको विवरण सङ्कलन गरिएको अनुसन्धानमा संलग्न स्रोतले बतायो।

स्रोतका अनुसार छानबिनमा आचार्यले उल्लेख गरेको कम्पनी र कलेजसँग उनको आर्थिक कारोबार हुने गरेको खुले पनि उनले गरेको दाबी अनुसार सत्य हो या हैन भन्ने पाटोको विश्लेषण भइरहेको छ।

अनुसन्धानमा आचार्यले गरेको दाबी अनुसारको प्रमाण फेला परेमा उनीहरूमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता हुनेछ। व्यवसायमा जति प्रयास गरे पनि सफल हुन नसकेको भन्दै आचार्यले प्रतिनिधि सभा भवन नयाँबानेश्वर अगाडि आचार्यले आफैँलाई आगो लगाएका थिए।

उपचारका लागि कीर्तिपुरमा रहेको बर्न अस्पताल लगे पनि उनको ज्यान जोगिन सकेन। उनको शरीर ८० प्रतिशत जलेको थियो। गम्भीर घाइते भएका आचार्यलाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले भेट्दा चिकित्सकीय प्रोटोकल मिचेको भन्दै विरोध भएको थियो।

माघ २३, २०७९ सोमबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।