आगजनीमा ६ महिना कैदको म्याद बदर गर्न निलम्बित सांसद चौधरीको माग अदालतले मानेन

धनगढी : आगजनीमा छ महिना कैद सजाए पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले माग गरेको म्याद बदरको अदालतले अस्वीकार गरेको छ।
जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएको दाबी गर्दै उनले आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए।
उच्च अदालत दिपायलको न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
आदेशमा चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। उक्त मुद्दाका लागि माघ २९ गते पेस तोकिएको छ।
आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनाले ६ महिना कैद र ८ लाख बढी रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। अदालतबाट दोषी भएर कैद सजाए तोकिए पनि प्रहरीले उनको खोजी गरेको थियो। उनी नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेर प्रतिनिधि सभामा सांसद समेत भए।
चौधरी ६ महिना कैद सजाय सुनाइएका दोषी रहेकोबारे उकेराले पहिलो पटक प्रमाणसहित समाचार प्रकाशित गरेपछि उनी पक्राउ परेका थिए।
चौधरीबारेका समाचार
माघ २३, २०७९ सोमबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।