पल शाहलाई १५ दिनभित्र अदालतमा झिकाउन उच्चको आदेश

पल शाहलाई १५ दिनभित्र अदालतमा झिकाउन उच्चको आदेश

पोखरा: बाल यौन दुरुपयोगमा कारागारमा रहेका अभिनेता पल शाहलाई झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ। जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

सो फैसलाविरुद्ध सरकारी पक्ष र शाह पक्ष दुवैले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमा सुनुवाइ गर्दै सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राज भण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको हो।

अदालतले १५ दिनभित्र शाहलाई उपस्थित गराउन आदेश दिएको हो। एक नाबालिगको बलात्कारको अभियोगमा शाह पुर्पक्षका लागि कारागारमा थिए। जिल्ला अदालत तनहुँले उनलाई सफाइ दियो। जिल्ला अदालत नवलपरासीले बलात्कार अस्वीकार गर्यो तर बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो।

माघ २३, २०७९ सोमबार १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।