कोल्ड स्टोर र होटलमा तस्करीका कुखुराको मासु, अनुगमन झारा टार्ने मात्रै

कोल्ड स्टोर र होटलमा तस्करीका कुखुराको मासु, अनुगमन झारा टार्ने मात्रै

काठमाडौँ : केन्द्रीय खाद्य विभागले नयाँ बजारस्थित प्यासिफिक फ्रोजन हाउसमा छापा मार्यो। अवैध कुखुराको मासु बिक्री गरेको सूचनाको आधारमा बालाजु क्षेत्रको कोल्ड स्टोरहरूमा छापा मार्दा प्रदूषित र मिति नाघेको प्याकिङ कुखुराको मासु फेला परेपछि विभागले सिलबन्दी गरेको थियो।

नयाँ बजारकै सिटी फ्रोजनमा अनुगमन गर्दा प्रदूषित मासुजन्य पदार्थहरू भेटिएपछि विभागले सिलबन्दी गरेको थियो। क्वारेनटाइन अफिसको सिफारिसमा सरकारले कुखुराको मासुको आयातमा रोक लगाएको छ। तर भारतबाट हुने कुखुराको मासुको तस्करी रोकिएको छैन। त्यही तस्करीको मासुहरू विभिन्न कोल्ड स्टोरमा पुग्ने गरेको विभागको अनुगमनमा खुलेको थियो।

कुखुराको मासुको उत्पादनमा नेपाल आत्मनिर्भर छ। तर किलोमा सय रुपैयाँसम्म सस्तो पर्ने भन्दै भारतबाट तस्करी हुने गरेको देखिन्छ। त्यसमा प्याकिङका मासु समेत देखिन्छ। मोटरसाइकल र साइकलमा ओसारपसार मात्रै हैन गाडिमै राखेर भारतबाट भित्र्याउने कुखुराको मासु काठमाडौँसम्म आइपुग्ने गरेको तीन वर्ष अगाडि पुष्टि भएको थियो।

काठमाडौँको नागढुंगामा राजश्व अनुसन्धान विभागले एक ट्रकमा छापा मार्दा प्याक गरेर ल्याइएको १० हजार किलो मासु फेला परेको थियो। यसले ठुला होटेल सञ्चालकहरूले भारतबाट तस्करी गरेर ल्याएको मासुको प्रयोग गर्ने गरेको खुलेको थियो।

अरू त अरू बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन(केएफसी) ले ब्राजिलबाट कुखुराको मासु ल्याउने दाबी गर्दै भारतको पन्जाबबाट ल्याउने गरेको पुष्टि भएको नेपाल फिड एसोसिएसनका महासचिव केशवराज थापा बताउँछन्। भारतबाट कुखुराको मासु ल्याउने गरेको खुलेपछि उसले नेपाली बजारबाटै किन्न थालेको थियो।

थापाका अनुसार अहिले केएफसीले नेपाली उत्पादनको मासु नै प्रयोग गर्ने गरे पनि भारतबाट हुने आयात र अवैध मासुको विक्री भने रोकिएको छैन।

थापा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याएर नेपाली बजारमा बिक्री गर्ने गिरोह नै सक्रिय रहेको दाबी गर्छन्। त्यसमा केही कोल्ड स्टोरहरू समेत संलग्न देखिएका छन्। उनीहरूले केही प्रतिशत नाफाको लोभमा भारतबाट तस्करी भएर भित्रिएको कुखुराको मासु विक्री गर्ने गरेको अनुगमनमा बारम्बार फेला पर्ने गरेका छन्।

मासुको गुणस्तर परीक्षणै नभई यसरी भारतबाट भित्रिने मासु स्वास्थ्यको दृष्टिकोणले जोखिमयुक्त छ नै नेपाली उत्पादकहरू समेत मारका परेका छन्।

महासचिव थापा भारतबाट तस्करी गरेर भित्रिएको गुणस्तरहीन मासु काठमाडौँमा  किनबेच हुने गरेको दाबी गर्छन्। यसले नेपाली किसान मर्कामामा पर्ने गरेको र नेपालीहरूको स्वास्थ्यमाथि खेलाँची भइरहेको बताए।

नेपालमा भारतबाट तस्करी भएको कुखुराको मासु होटेल अनि कोल्ड स्टोरहरूमा पुगेकोबारे खाद्य गुणस्तर विभागका अधिकारीहरू जानकार छन्।

विभाग प्रवक्ता मोहन कृष्ण महर्जन पछिल्लो समय फ्रोजन हाउसमा राख्ने प्याकिङको मासुको गुणस्तरमा समस्या देखिएको बताउँछन्। असुरक्षित रूपमा राख्ने, उत्पादन मिति समेत नखुलेका मासुजन्य सामाग्री राखेर विक्री गर्ने समस्या बढेको उनले बताए।

उनले यो स्वीकार गरे पनि अनुगमन भने निकै फितलो देखिन्छ। विभागको आर्थिक वर्ष २०७९-८० को बजार अनुगमन सम्बन्धी प्रथम त्रैमासिक विवरण अनुसार बजार अनुगमन गरेर ५ सय १६ वटा नमुना सङ्कलन गर्दा मासुजन्य नमुनाको सङ्ख्या एउटा मात्रै छ। यसले नै विभागको अनुगमनको शैली पुष्टि गर्छ नै।

नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। त्यसमा ४६ प्रतिशत कुखुराको मासु र बाँकी अन्य पशुपन्छीको मासु हुने हो।

माघ २३, २०७९ सोमबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।