जहाँ बाँदरको नाउँमा छ ३२ एक्कड जमिन

जहाँ बाँदरको नाउँमा छ ३२ एक्कड जमिन

एजेन्सी: भारतको महाराष्ट्रस्थित उस्मानावाद जिल्लाको एक गाउँमा बाँदरको नाउँमा समेत ३२ एक्कड जमिन रहेको छ।

उपला ग्राम पञ्चायतमा रहेको अभिलेखमा स्थानीय ३२ एक्कड जमिन गाउँ आसपासमा बस्ने सबै बाँदरको नाममा रहेको उल्लेख छ।

उस्मानाबादको उपला गाउँमा जब कुनै बाँदर घरको ढोकामा पुग्छन्, तब मानिसहरु बाँदरलाई निकै सम्मान गर्दछन्। यति मात्र होइन, गाउँमा हुने बिहेभोज लगायतका समारोहमा पनि बाँदरको उत्तिकै सम्मान हुन्छ।

गाउँका प्रमुख बप्पा पडवालका अनुसार ग्राम पञ्चायतको दस्तावेजमा उक्त जमिन बाँदरको रहेको देखिए पनि जनावरको स्वामित्वमा जग्गा राख्न सकिने बारेको प्रावधान कसले र कहिले सुरु भयो भन्ने खुल्न सकेको छैन।

उनका अनुसार विगतमा गाउँमा हुने सबै अनुष्ठानमा बाँदरको उपस्थिति हुन्थ्यो। बिहे हुँदा सबैभन्दा पहिले बाँदरलाई उपहार दिइन्थ्यो र यसपछि मात्रै समारोह सुरु हुन्थ्यो।

तर, अहिले धेरैले त्यो प्रथा छाड्दै गएका छन्। तर आफ्नो ढोकामा आउने बाँदरलाई खाना खुवाउने चलन भने अझै त्यहाँ हराएको छैन। 

गाउँमा अहिले झण्डै १०० वटा बाँदर बस्छन्। तर पछिल्ला वर्षमा बाँदरको संख्या घट्दै गएको छ। बाँदरको नाममा रहेको जमिनमा वन विभागले वृक्षरोपण गरेको छ।

त्यहाँ मानिस बस्न छाडेको एउटा घर पनि बाँदरको बासका लागि दिइएको थियो, जुन अहिले भत्किएको छ।

माघ २३, २०७९ सोमबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।