रविलाई तोसिमाको ढाडस- 'विचलित नहुनुहोस् सभापतिज्यू'

रविलाई तोसिमाको ढाडस- 'विचलित नहुनुहोस् सभापतिज्यू'

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा ललितपुर- ३ कि प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई ढाडस दिएकी छिन्। सामाजिक सञ्जालमार्फत् कार्कीले लामिछानेलाई विचलित नहुन भन्दै ढाडसपूर्ण सन्देश दिएकी छिन्।

'कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ। हामीसँग जनता साथमा छन्। जनतासँग गरेको एक-एक बाचा भुलेका छैनौँ। भुल्ने छैनौँ', उनले भनेकी छिन्।

लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्दै उनले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनताकै भएको बताएकी छिन्।

'हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौँ र गरिरहन्छौँ। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन्। त्यसैले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ', उनले भनिन्।

आफूले मागेको गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट हटेको छ।

माघ २३, २०७९ सोमबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।