टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, हालसम्म १७ जनाको मृत्यु

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, हालसम्म १७ जनाको मृत्यु
तस्बिरहरू : बीबीसी

एजेन्सी: टर्कीको दक्षिण-पूर्वी गाजिआनतेप शहरमा केन्द्रविन्दु भई शक्तिशाली भूकम्प गएको छ। सिरियासँगको सीमा नजिकको भू-भागमा भूकम्प जाँदा हालसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय ४:१७ मा भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु सतहभन्दा १७.९ किलोमिटरमुनि रहेको छ।

भूकम्पको झट्का निकै परसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ। थुप्रै भवनहरू ढलेका छन् भने त्यहाँ कयौँ मानिस पुरिएको हुनसक्ने बताइएको छ।

हालसम्म १७ जना मृतक भएको बताइए पनि मृतकको सङ्ख्या बढ्ने आकलन छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोइलुका अनुसार १० वटा शहर भूकम्पबाट प्रभावित बनेका छन्।

बीबीसका स्थानीय संवाददाताका अनुसार गाजिआनतेप शहरमा शपिङ मल नै ढलेको छ।

टर्कीबाहेक सिरिया, लेबनान र साइप्रसमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।

माघ २३, २०७९ सोमबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।