सुरक्षाकर्मीको घेरामा पार्टी बैठक भित्र जाँदा हँसिला देखिएका रविले बाहिरिँदा के निर्णय ल्याउलान् !
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन अनि रवि लामिछानेलाई मन्त्री बनाउन अस्वीकार गरेपछि धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा बैठक गर्न पुगेका रवि लामिछाने हँसिला देखिएका थिए।
सुरक्षाकर्मीको घेरामा रहेका उनी कार्यालयको परिसरमा रहेका सञ्चारकर्मी र आफ्ना सहयोगीलाई नमस्कार फर्काउँदै पार्टी कार्यालयभित्र प्रवेश गरेका थिए। पार्टीको केन्द्रीय समिति र संसदीय समिति दुवैको संयुक्त बैठक बसेको थियो। बैठकको निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयको प्राङ्गणमा तयारी गरिएको छ। तर पार्टी नेताहरू बाहिरिएका छैनन्।
दोहोरो नागरिकता र राहदानी दुरुपयोगबारे जिल्ला प्रहरी परिसर काठमाडौँमा उनी विरुद्ध छानबिन जारी नै छ। रविले समेत आफू अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी निकालेको स्वीकार गर्दै तर त्यसको प्रयोग नगरेको दाबी गर्दै आएका छन्। तर अध्यागमन विभागको रेकर्डमा उनले नेपाली राहदानी प्रयोग गरेर जापान, कोरिया र युएई गएको पुष्टि हुन्छ।
राहदानी दुरुपयोगको अनुसन्धान सकिएर जिल्ला अदालतमा मुद्दा पुगेका लामिछाने दोषी ठहर हुने सम्भावना बलियो देखिन्छ। तर उनी सोही अनुसन्धान प्रभावित पार्न गृहमन्त्रीका रूपमा आफैँ फर्कने या पार्टीका अन्य कुनै सांसदलाई पठाउने ढिप्पीमा बसेका थिए।
तर प्रधानमन्त्री प्रचण्ड पनि नागरिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म र राहदानी दुरुपयोगबारेको प्रहरी छानबिन टुङ्गोमा नपुगेसम्म उनको पार्टीलाई गृह र उनलाई मन्त्री बनाउन नसक्ने अडानमा बसेपछि सरकार र लामिछानेको सम्बन्ध तितो बनेको थियो।
रास्वपा सम्बन्धी समाचार
माघ २२, २०७९ आइतबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।