राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सकियो, निर्णय पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै
काठमाडौं : सरकारमा रहने या नरहने लगायतका विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको बैठक सकिएको छ। बैठकका निर्णय सार्वजनिक गर्न केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको तयारी भइरहेको छ।
पार्टी सभापति रवि लामिछानेको संसद् पद गुमेसँगै गुमेको गृह मन्त्रालयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाविच विवाद बढिरहेको थियो। गृहको सट्टा अन्य मन्त्रालय लिन प्रधानमन्त्रीले प्रस्ताव गरे पनि उनीहरू सकारात्मक देखिएका थिएनन्।
पार्टी दर्तादेखि सांसद उम्मेदवार बन्नसम्म लामिछानेले प्रयोग गरेको २०५० मा निकालेको नेपालको नागरिकता निष्क्रिय रहेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध रहेको ठहर गर्दै प्रक्रिया पूरा गरेर नागरिकता दिन संक्षिप्त आदेश जारी गरेपछि उनले पार्टी नेतृत्वदेखि मन्त्री र सांसद पद गुमाएका थिए।
प्रक्रिया पुरा गरेर नागरिकता सक्रिय गराए पनि उनको सांसद पद पुन निर्वाचनमा निर्वाचित नभई फर्कने सम्भावना छैन। नागरिकता सक्रिय गराए लगत्तै पार्टी नेतृत्वमा फर्किएका उनले गैर सांसदको रूपमा ६ महिना गृह मन्त्रालयमै फर्कने प्रयास गरे पनि प्रधानमन्त्री सकारात्मक नहुँदा सम्भव भएन।
प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अर्को मन्त्रालय र रवि बाहेक अर्को मन्त्रीको प्रस्ताव राखेका थिए। तर रविले स्वीकार गरेनन्। नागरिकताबारे संवैधानिक इजलासको आदेशको पूर्ण पाठ अनि राहदानी दुरुपयोगको प्रहरी छानबिन टुङ्गो नलागेसम्म रास्वपालाई गृह दिन नसक्ने अडानमा छन् प्रधानमन्त्री।
माघ २२, २०७९ आइतबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।