उपमहानगर राष्ट्रिय सम्मेलनमा क-कसले के-के बोले ?
बुटवल: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए।
उनले स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र नगरको अवस्था र समस्या फरक-फरक रहेकाले आर्थिक सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताए।
सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानून निर्माणमा चासो दिनुपर्ने बताए। उनले बुटवलले उपमहानगरपालिकाहरूका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुशी व्यक्त गर्दै उनले यसले सङ्घीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउनका लागि स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए। उनले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानून निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने बताए।
उनले महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक-फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोतको वितरण गरिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले संविधानले व्यवस्था गरेअनुसारका अधिकार कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सङ्घीय सरकारले विशेष चासो देखाउनुपर्ने बताए।
उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्यलाई अरू बढी प्रभावकारी बनाउनुपर्ने बताए।
कार्यक्रममा बोल्दै नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजनाहरू दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए।
नेपाल नगरपालिका सङ्घकी सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारहरूलाई सफल बनाउनुपर्ने बताइन्।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकार क्षेत्रहरूको जिम्मेवारी तोकी सोहीबमोजिमको कानून बनाउन सङ्घीय सरकारले तदारुकता देखाई प्रदेश र स्थानीय सरकारलाई कानून बनाउन सहजीकरण गर्नुपर्ने बताए।
उनले सङ्घीय सरकारका विषयगत मन्त्रालयहरूबाट स्थानीय सरकारका अधिकारहरूमाथि अंकुश लगाउने प्रयास भएको भन्दै स्थानीय सरकारलाई स्थानीय निकायजसरी व्यवहार गर्न नहुने बताए।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकारका साझा मुद्दालाई एकीकृत रूपमा समाधान गर्नका लागि साझा समस्या भएका स्थानीय सरकार एकैठाउँमा उभिएको बताइन्।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल पत्रकार महासङ्घ लुम्बिनीका महासचिव विक्रम खड्कालगायतले बोलेका थिए।
माघ २२, २०७९ आइतबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।