नेपाल राष्ट्र बैङ्कले सुपर लघुवित्तको सञ्चालक समिति निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लियो

नेपाल राष्ट्र बैङ्कले सुपर लघुवित्तको सञ्चालक समिति निलम्बन गरी व्यवस्थापन नियन्त्रणमा लियो

काठमाडौं: नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ। उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैङ्कबाट व्यवस्थापन समूह खटाइएको छ।

बैङ्कले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबारबाट व्यवस्थापकीय काम सम्हाल्ने छ। आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरू वित्तीय अपराध समेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

“विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ”, सूचनामा भनिएको छ।

पछिल्लो समय संस्थाको बचत क्रमिकरूपमा घट्दै गएको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासन समेत कमजोर देखिएको राष्ट्र बैङ्कले जनाएको छ। उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्ता समेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैङ्क ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैङ्कले जनाएको छ।

सूचनामा भनिएको छ- “लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेको लगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैङ्क तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ।”

साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैङ्कले जनाएको छ।

माघ २२, २०७९ आइतबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।